काठमाडौं- आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने लागेको सुइँको पाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरे। संसद् विघटनसँगै नेकपाको आन्तरिक कलह चर्कियो, ओली र पुष्पकमल दाहाल–माधव समूहले एकअर्कालाई कारबाही र पार्टीको साधारण सदस्यता समेतबाट निलम्बन गरे। त्यसयता ओली र प्रचण्डको सम्बन्ध झिजोलाग्दो थियो, त्यसपछि नेताद्वयले एकअर्कालाई गरेका गालीपुराण त्यति प’राण सामाजिक सञ्जालमा अझै ताजा छन्। तर गत पुस १० गते नेपाली राजनीतिमा नेकपा एमाले अध्यक्ष ओलीले नेपाली राजनीतिमा नयाँ ट्विस्ट दिए, प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरे।
८९ सिटसहित संसद्मा पहिलो दल बनेको नेपाली कांग्रेसलाई ओलीले दिएको सद्माले अझै कांग्रेस ठीक ठाउँमा उभिन सकेको छैन। तर प्रधानमन्त्रीसहित संवैधानिक नियुक्तहरु गुमाएको कांग्रेसले राष्ट्रपतिमा भने माछा पार्ने आशासहित ढोक्सा थापेको थियो। सभामुख एमालेलाई दिएर राष्ट्रपति पनि एमालेलाई दिँदा भविष्यमा हुनसक्ने दुर्घटनाको आकलन गरेर प्रचण्ड कसैगरी दुवै पद एमालेलाई दिन तयार भएनन्। राष्ट्रपतिको उम्मेदवारकै विषयमा ओली प्रचण्डबीच पटकपटकको भेटमा उम्मेदवार टुंगो लागेन। ओलीले एमालेकै उम्मेदवारमा दबाब दिइरहँदा राष्ट्रिय सहमतिको रटानमा प्रचण्ड थिए। यही असहमितकै आधारमा राष्ट्रपति आफ्नो ढोक्सामा पर्ने अपेक्षा कांग्रेसको थियो। तर अन्तिम समयमा आएर ओलीले राष्ट्रपतिको उम्मेदवारका रुपमा माधव नेपाललाई अघि सार्ने तयारी गरेका छन्।
पहिले नै राष्ट्रपतिमा नेपाललाई अघि सार्ने संकेत प्रधानमन्त्री प्रचण्डलाई गरिसकेका ओलीले आइतबार नेपालसँग यस विषयमा छलफल गरेका छन्। आइतबार महाराजगञ्जस्थित एक व्यवसायीको घरमा नेपाल र ओलीबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल भएको नेपालनिकट स्रोतले जनाएको छ। स्रोतकाअनुसार ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन्। ‘एमाले अध्यक्षज्यूकै प्रस्तावमा भेट भएको हो, राष्ट्रपतिको उम्मेदवारबारे सकारात्मक छलफल भएको छ,’ स्रोतले भन्यो। स्रोतकाअनुसार ओलीले राष्ट्रपतिमा नेपाललाई सघाउने बचन दिई पार्टी एकताको शर्त राखेका छन्। यदि, नेपाल राष्ट्रपति भएमा एमालेबाट छुट्टिएर बनेको नेकपा एस पुन: एमालेमै गाबिनेछ।
यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्कालगायतका नेताहरुसँग राष्ट्रपतिमा सहयोग माग्दै प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए। उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग नगर्ने आश्वासन दिएका थिए। तर ओलीले राष्ट्रपतिमा नेकपा एसका अध्यक्ष नेपाललाई अघि सार्ने तयारी गरेको पूर्वसूचना आफूले पाएको भन्दै त्यसो भएमा नेपाललाई कांग्रेसले पनि सहयोग गर्नपर्ने हुनसक्ने प्रस्ताव गरेका थिए।
निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तोकेर १३ गतेसम्म उम्मेदवार मनोनयनका छुट्याइसक्नुपर्ने समयावधि दिएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा दलहरुले सक्रियता बढाएका छन्।