शुक्रबार, जेठ ३, २०८२

सांगीतिक प्रस्तुतिबाटै क्यान्सर सचेतना

बेलका विकास समाज र राजन विश्वकर्मा क्यान्सर केयर एसोसिएसनको संयुक्त आयोजनामा वडा नम्बर ४, लालबजारमा बृहत जनचेतनामूलक कार्यक्रम गरिएको हो।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

उदयपुर- बेलका नगरपालिकामा क्यान्सर सचेतना कार्यक्रम गरिएको छ। बेलका विकास समाज र राजन विश्वकर्मा क्यान्सर केयर एसोसिएसनको संयुक्त आयोजनामा वडा नम्बर ४, लालबजारमा बृहत जनचेतनामूलक कार्यक्रम गरिएको हो। 

क्यान्सरका कारण बेलका नगरपालिकामा फागुन लागेयता दुई जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ बिरामी उपचाररत छन्। जनचेतनाको अभावले नै बिरामी बढिरहेकाले चेतनामूलक कार्यक्रमको सुरुवात गरिएको बेलका विकास समाजका अध्यक्ष मोतिराज थापाले बताए। आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ। करिब दुई हजार स्थानीयवासीको सहभागिता रहेकाले कार्यक्रम प्रभावकारी भएको कार्यक्रम व्यवस्थापक टेकबहादुर कार्कीले बताए। 

जनसहभागिता बढाउन कार्यक्रममा क्यान्सरसम्बन्धी जानकारीमूलक सांगीतिक प्रस्तुतिहरू पनि राखिएको थियो। रियालिटी शो ‘लोकस्टारका सेकेन्ड रनर अप’ विनोद दनुवारलगायत कलाकारले चेतनामूलक सांगीतिक प्रस्तुति दिएका थिए। क्यान्सर केयर एसोसिएसनका अध्यक्ष राजन विश्वकर्मा आफैं क्यान्सरपीडित हुन्। 

ब्लड क्यान्सरलाई जितेका उनले आफ्नो अनुभव सुनाएका थिए। अहिले खानपान, जीवनशैलीमा ध्यान दिए भविष्यमा क्यान्सरकै कारण हुने शारीरिक, आर्थिक तथा मानसिक तनावबाट मुक्ति पाइने उनले बताए।

बेलका नगरपालिकाका मेयर अशोक कार्कीले क्यान्सरका बिरामी दिनप्रतिदिन थपिँदै गएकाले नगर सरकारले पनि यस्ता चेतनामूलक अभियानलाई प्रोत्साहन गर्ने बताए। ‘रोग लाग्नै नदिन पहल गर्नुपर्ने आवश्यकता छ’, उनले भने, ‘स्वास्थ्य सचेतनासम्बन्धी यस्ता अभियानलाई नगरपालिकाले पूर्णरूपमा सहयोग गर्छ।’

Metro Mart
worldlink

आर्थिक अवस्था कमजोर भएका ४ जना क्यान्सर बिरामीका लागि कार्यक्रममा सहयोग संकलन पनि गरिएको थियो। एक वर्षयता वीर अस्पतालमा उपचाररत बेलका नगरपालिका– ५ का अमृतलाल राई र बेलका– ४ का गणेश थापा मगर, बेलका– ५ का जीतबहादुर खत्री र बेलका– ४ की लिला पाण्डेको नाममा कार्यक्रममा सहभागीहरूबाट ४० हजार रुपैयाँ संकलन गरिएको हो। यीमध्ये खत्रीलाई उनकै घरमा पुगेर बेलका विकास समाजका पदाधिकारीले १० हजार रुपैयाँ हस्तान्तर गरेका छन् भने बाँकी बिरामीलाई जनही १० हजारका दरले अस्पतालमै पुगेर बुझाइने व्यवस्थापक कार्कीले बताए। ‘हाम्रो उद्देश्य क्यान्सर सचेतना नै हो तर कार्यक्रमका क्रममा केही रकम पनि संकलन गर्न सकियो भने बिरामीको आर्थिक चाप कम गर्न मद्दत पुग्छ भनेर संकलन गर्‍यौं’, उनले भने।

प्रकाशित: Feb 19, 2023| 15:04 आइतबार, फागुन ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्