काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि एवं २६०औं सेना दिवस अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएकी छन्। राष्ट्रपति भण्डारी नेपाली सेनाको परामाधिपति हुन्।
शनिबार राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिनुका साथै सेनाले टक्र्याएको सलामी ग्रहण गरिन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।
दिवस अवसरमा सेनाका हेलिकोप्टरले पुष्पवृष्टि गर्नुका साथै राष्ट्रिय झन्डा र ‘सेना दिवस–२०७९’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरिएको थियो।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र सभामुख देवराज घिमिरे, मन्त्रीहरु, सांसद, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलगायत सहभागी थिए। उक्त अवसरमा भारतीय सेनाका पाँच पूर्वप्रमुखले पनि सहभागिता जनाएको सेनाले बताएको छ।