शुक्रबार, जेठ ३, २०८२

गुल्मी अस्पतालबाटै हाडजोर्नीको विशेषज्ञ सेवा

हाडजोर्नी तथा नशा रोगका लागि सामान्य समस्या भए पनि पाल्पा, बुटवल र काठमाडौं जानुपर्ने बाध्यता गुल्मीमा विशेषज्ञ डाक्टर आएपछि हटेको हो।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

तम्घास– सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालबाटै हाडजोर्नीको विशेषज्ञ डाक्टरबाट बिरामीको उपचार हुन थालेपछि टाढा जानुपर्ने बाध्यता हट्दै गएको छ। हाडजोर्नी तथा नशा रोगका लागि सामान्य समस्या भए पनि पाल्पा, बुटवल र काठमाडौं जानुपर्ने बाध्यता गुल्मीमा विशेषज्ञ डाक्टर आएपछि हटेको हो।  

इस्मा गाउँपालिका–२ हस्तिचौरकी लक्ष्मी बुढाथोकी हाडजोर्नीको उपचारका लागि पटक–पटक पाल्पा पुगेको सम्झिन्छन्। छोराको उपचारका लागि आएकी लक्ष्मी गुल्मीबाटै उपचार भएपछि खुसी छन्। ‘एकदमै खुसी लागेको छ। हाडजोर्नी डाक्टर यही हुनुहुन्छ। आफ्नै जिल्ला अस्पतालबाट उपचार पाउँदा धेरै सहज भयो,’ उनले भनिन्।

रेसुंगा नगरपालिका–१ तम्घासका महाशर्मा भण्डारीको बायाँ हातमा समस्या थियो। उनले यसअघि यस्तो समस्या हुँदा पटक–पटक पाल्पा जानुपरेको सुनाए। गुल्मीमै हाडजोर्नीका विशेषज्ञ डाक्टर आएको थाहा पाएपछि भण्डारीले उपचारमा निकै राहत महसुस गरे। ‘पहिले यस्तै समस्या हुँदा अन्यत्र जान्थें’, उनले भने, ‘हाडजोर्नीको सबै उपचार यही हुने भएपछि सबैलाई टेवा पुग्यो।’ 

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाट उपचारका लागि आएका गोपाल पाण्डे यसअघि हाडजोर्नीको निरन्तर जाँचका लागि पाल्पा धाउनुपरेको बताउँछन्। पाल्पा र बुटवलमा हुने उपचार तम्घासबाटै हुने भएपछि आफूहरुलाई निकै सहज भएको उनले बताए।

‘अन्यत्र जाँदा धेरै खर्चिलो हुने र सहयोगीलाई गाह्रो हुन्थ्यो’, उनले भने, ‘धेरै सहज भयो, समयको पनि बचत भयो।’ उनीहरु मात्र होइन, गुल्मी अस्पतालबाट हाल औसतमा दैनिक ६० देखि ७० जना बिरामीले हाडजोर्नीको उपचार गराउँदै आएका छन्। जसमा अधिकांश गुल्मेली र केही अर्घाखाँचीका बिरामीसमेत रहेका छन्।

Metro Mart
worldlink

प्रत्येक बुधबार हाडजोर्नीका बिरामीको शल्यक्रिया हुँदै आएको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.प्रदीप शिवाकोटीले बताए। ‘नगरपालिकाले प्रोत्साहन गरेपछि जनताले सेवा पाइरहेका छन्’, उनले भने, ‘हाडजोर्नीको समस्याका लागि अब बाहिर जानुपर्दैन।’ थप उपकरणको आवश्यक परेको उनले बताए। 

गुल्मी अस्पतालमा दरबन्दी भए पनि विशेषज्ञ डाक्टर बस्न नमान्ने समस्या थियो, जसका कारण हाडजोर्नीको सेवा नहुँदा बिरामीलाई सास्ती भएपछि रेसुंगा नगरपालिकाले सहजीकरण गरेको नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए।

सरकारले दिने तलब बराबर थप भत्ता दिएर विशेषज्ञ डाक्टर टिकाएपछि बिरामीलाई सहज भएको नगर प्रमुख पन्थीको भनाइ छ। ‘हाडजोर्नीको सामान्य समस्या हुँदा पनि पाल्पा जानुपर्ने समस्या थियो’, उनले भने, ‘अहिले गुल्मीबासीले आफ्नै ठाउँमा विशेषज्ञ सेवा पाएका छन्।’ उनले थप विशेषज्ञ सेवा पनि उपलब्ध गराउन सहयोग गर्ने बताए।

प्रकाशित: Feb 18, 2023| 12:01 शनिबार, फागुन ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्