काठमाडौं– मुलुकभरका ७५३ स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट बन्न सफल भएको छ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ३ फागुनमा सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार उक्त गाउँपालिका देशकै पहिलो बन्न सफल भएको हो।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकका आधारमा गरेको मूल्यांकन अंक प्रदान गरिएको थियो।
कार्यसम्पादन मूल्यांकनमा नरैनापुरले ७८. ५१८६ अंक प्राप्त गरेको छ। दोस्रो बनेको प्यूठानको प्यूठान नगरपालिकाले ७७.२६१४ अंक प्राप्त गरेको छ। तेस्रो भएको म्याग्दीको मंगला गाउँपालिकाले ७७.०९२६ अंक प्राप्त गरेको थियो।
कार्यसम्पादनमा नरैनापुर गाउँपालिकालाई उत्कृष्ट भएको खबरले हर्षित बनाएको पालिका अध्यक्ष इस्तियाक अहमद साहले बताए। ‘दुई महिनादेखि बिरामी भएकाले मलाई यो खबर थाहा थिएन। सूचनाबाट थाहा पाएँ। जनप्रतिनिधि र कर्मचारीको कामप्रतिको यथेष्ट लगावले नरैनापुर देशकै उत्कृष्ट भएको हुन सक्छ’, उनले भने।
लुम्बिनी प्रदेशको बाँकेमा पर्ने उक्त गाउँपालिका आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय हिसाबले अत्यन्तै जोखिम र सुक्खाग्रस्त मानिन्छ। मुस्लिम र हिन्दु बाहुल्य सो गाउँपालिकामा गरिबी, अशिक्षा र परम्परागत कुसंस्कार पनि विद्यमान रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए।
‘चालू आर्थिक वर्षमा पानी नै नपरेर गाउँपालिकामा धान हुन सकेन’, उनले भने, ‘जिल्लाका अन्य पालिकाहरुको हिसाबले नरैनापुर निकै अभाव र संकटग्रस्त क्षेत्र हो।’ प्राकृतिक विपत्ति खासगरी खडेरीले यहाँको कृषि उत्पादनमा समस्या आएको प्रमुख प्रशासकीय अधिकृत खरालले जानकारी दिए।
उक्त गाउँपालिकाका लेखपाल प्रकाश अधिकारीले काममा अहोरात्र खटेअनुसार सुखद खबर सुन्न पाइएको बताए। उनले भने, ‘गत आर्थिक वर्ष बेरुजु आउने पालिकाकामध्येमा हामी जिल्लामै राम्रो देखियौं। पछिल्लो समयमा अस्पताल जाने सुत्केरी संख्या ह्वात्तै बढेको छ। घरमा सुत्केरी हुने संख्या कम रहेको छ।’
विद्यालयमा विद्यार्थी भर्ना दर पनि उच्च रुपले बढेको लेखापाल अधिकारी बताउँछन्। उनका अनुसार आव २०७८÷७९ मा नरैनापुर गाउँपालिकाले ९२ प्रतिशत पुँजीगत खर्च गरेको थियो।
पूर्णखोप सुनिश्चित गाउँपालिका घोषित भएर त्यसको दिगो विकास कार्यक्रम सञ्चालन पनि भइरहेका छन्। राती अबेरसम्म नियमित खटेर काम गर्दा सफलता पाइँदो रहेछ भन्ने कुरा यो नतिजाले देखाएको देशमै पहिलो भएको खबरले हर्षित तुल्याएको उनले बताए।