काठमाडौं– हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथ मन्दिर क्षेत्र यतिबेला दुलहीझैं शृंगारिएको छ। ६ फागुन त्रयोदशी तिथिमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाका लागि पाशुपात क्षेत्रमा सबै तयारी पूरा भएको हो।
पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनलाई सुबिस्ता दिलाउन आठ वटा उपसमिति गठन गरिएको छ। शिवरात्रिको तयारीका लागि संस्कृतिमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा यस वर्ष अन्यलाई पासको व्यवस्था गरिएको छैन।
यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको र भक्तजनको व्यवस्थापनका लागि पाँच लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको सञ्चालक परिषद् सदस्य एवं मेलाबजार सञ्चालन तथा साज–सजावट व्यवस्थापन उपसमिति संयोजक पूर्णसंगम जेठाराले जानकारी दिए।
यस पटक महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तका लागि हंसमण्डप क्षेत्रमा भोजन व्यवस्था गरिने र त्यहाँ संरचना निर्माण गरिएको कोषका कोषध्यक्ष नारायण सुवेदीले बताए।
उनका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको प्रबन्धसमेत मिलाइएको छ। सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइँदै छ। सुरक्षा व्यवस्था अनुगमन, प्रचार–प्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको कोषले जनाएको छ।
यसैगरी मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य अन्तिम चरणमा पुगेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए। उनका अनुसार धुनीका लागि पशुपति क्षेत्रका निर्मल, भष्मेश्वर, राममन्दिर, श्रीगोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायत अखडामा दाउराको व्यवस्था गरिनेछ।
यसैगरी नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिएको आयोजकले जनाएको छ। यस वर्षको शिवरात्रिमा शान्ति–सुरक्षा व्यवस्थापनका लागि १ हजार ५०० हाराहारी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित हुनेछन्। मूल मन्दिर परिसरमा नेपाली सेनाले समेत व्यवस्थापनमा सहयोग गर्नेछ। महाशिवरात्रिमा छिमेकी भारतलगायत तेस्रो मुलुकबाट हजारौंको संख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ।
पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलीमिली बनाइएको छ। पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रंगीचंगीी पारिनुका साथै फूल तथा बिजुलीबत्तीले सजाइएको छ। मारवाडी समाजको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम अन्तिम चरणमा पुगेको छ।