काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने भएको छ। सोही अनुरुप पहिलो शल्यक्रियाको तयारी थालिएको उनीसँगै रहेका युवा नेता तथा व्यवसायी योगराज कँडेलले नेपाल समयलाई बताए।
ग्यास सिलिन्डरबाट सल्किएको आगोको लप्को लागेर गम्भीर अवस्थामा मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको शल्यक्रिया गरिने भएको हो।
'हामीले पैसा जम्मा गरिसकेका छौं। अब केहीबेर मै चिकित्सकहरूले शत्यक्रिया हुन्छ भन्नु भएको छ,' उनले भने। भण्डारीको हृदयको चाल ठिक रहेको उनको भनाइ छ।
आगोको लप्को र धुँवाका कारण फोक्सोमा असर गरेसँगै गम्भीर रहेका नेता भण्डारीलाई बिहीबार थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो। भण्डारीलाई अहिले आईसीयूमा राखिएको छ।