सोमबार, वैशाख २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • १५ सय मेगावाट आयोजनाको विद्युत् खरिद सम्झौता आवेदन खुल्यो

१५ सय मेगावाट आयोजनाको विद्युत् खरिद सम्झौता आवेदन खुल्यो

१५ सय मेगावाट विद्युत किन्ने गरी ग्रिड कनेक्सन एग्रिमेन्टको रोल क्रमअनुसार बिजुली खरिद सम्झौता (पीपीए) हुन लागेको हो।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले  थप १५ सय मेगावाटका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाको विद्युत् खरिद खुलाएको छ।प्राधिकरणले सूचना जारी गर्दै ग्रिड कनेक्सन एग्रिमेन्ट भएका आयोजनाबाट विद्युत् खरिद सम्झौताका लागि निवेदन र कागजात मागेको हो।

१५ सय मेगावाट विद्युत किन्ने गरी ग्रिड कनेक्सन एग्रिमेन्टको रोल क्रमअनुसार बिजुली खरिद सम्झौता (पीपीए) हुन लागेको हो। करिब ४ वर्षदेखि यस्ता आयोजनाको पीपीए रोकिँदा जलविद्युत्मा नयाँ लगानी पनि रोकिन पुगेको थियो। उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा गत बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको ९३०औं बैठकले ग्रिड आबद्ध सम्झौता मितिको रोलक्रमका आधारमा आरओआर आयोजनाको १५ सय मेगावाट बराबर विद्युत् खरिद सम्झौता गर्ने निर्णय गरेको थियो।

उक्त आयोजनाको विद्युत् ‘लेऊ या तिर’ सिद्धान्तका आधारमा खरिद गरिनेछ। आयोजनाको विद्युत् सुक्खायाम (१६ मंसिरदेखि १५ जेठ) र वर्षायाम (१६ जेठ देखि १५ मंसिर)का लागि हाल कायम रहेको दर क्रमशः ८.४० र ४.८० प्रतियुनिटमा खरिद हुनेछ।

प्राधिकरणको १८ माघसम्मको विवरणअनुसार १३६ आयोजनासँग ३ हजार १९२ मेगावाटको कनेक्सन सम्झौता गरिएको छ। ती आयोजनासँगको सम्झौता यथावत् राखी आरओआर आयोजनासँग थप १५ सय मेगावाटको पीपीए गरिनेछ।

ऊर्जा मन्त्रालयले २०७५ वैशाखमा ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र (श्वेतपत्र) दीर्घकालीन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्देश्यले आगामी १० वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत आयोजनाको उत्पादन सम्मिश्रण तय गरेको थियो।

Metro Mart
worldlink

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषद्को निर्णयबमोजिम तय भएको उत्पादन सम्मिश्रणअनुसार कनेक्सन सम्झौताको रोलक्रमका आधारमा आरओआर आयोजनाका लागि तोकिएको ६७५० मेगावाटको सीमा नपुग्दासम्म पीपीए गर्ने निर्णय गरिएको बताए।

पीपीए नभएका कारण जलविद्युत आयोजनाहरु निर्माणमा जान नसकी आगामी ५/७ वर्षमा नयाँ आयोजनाबाट विद्युत उत्पादन ठप्प हुने अवस्था रोकिएको भन्दै उनले अब लगानीकर्ताबाट आयोजनामा गरिएको लगानी नडुब्ने परिस्थिति बनेको उनको भनाइ छ।

प्राधिकरणले हालसम्म ६ हजार ३६६ मेगावाटको पीपीए गरेको छ। त्यसमध्ये १ हजार ५ सय ३१ मेगावाटका आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन्। ३ हजार २ सय ८१ मेगावाटका आयोजना वित्तीय व्यवस्थापन गरी निर्माणाधीन छन्। ग्रिड कनेक्सन सम्झौता भएका आयोजनासहित प्राधिकरणमा पीपीएका लागि ११ हजार मेगावाटका विभिन्न आयोजनाले दरखास्त दिएका छन्। त्यसमध्ये अब रोलक्रमअनुसार १५ सय मेगावाटको पीपीए हुनेछ।

प्रकाशित: Feb 17, 2023| 10:56 शुक्रबार, फागुन ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्