काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उनले पदीय दुरुपयोग गरी दुई करोड १० लाख रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोगमा बिगो बमोजिमको जरिवाना, र कैद सजाय मागदाबिसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले केसी तथा नातागोताका नाममा भएको सम्पत्तिमध्ये दुई करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँको वैध स्रोत खुलाउन नसकेको भन्दै स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी त्यति नै जरिवाना र कैद तथा अवैध सम्पत्तिबाट बढे/बढाइएको सम्पत्ति जफत गर्न समेत मागदाबी लिएको छ।
अयोगेले केसीकी पत्नी सुशीला पण्डितका नाममा घरजग्गा खरिद, बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चको स्रोत पुष्टि हुन नसकेको जनाएको छ। लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्तिलाई बिगो र त्यसबाट बढेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पण्डितलाई प्रतिवादी बनाएको हो।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले केसी सरकारी सेवामा प्रवेश गरेयताको सम्पत्ति जाँचबुझ गर्दा वैध स्रोत नखुलेको सम्पत्तिउपर बिगो, जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको बताए। आयोगले केसीले २०४३ साउन १ बाट सरकारी सेवा प्रवेश गरेका केसीमाथि २०७८ असार ३० सम्मको ३५ वर्षमा आयआर्जन गरेको सम्पत्ति तथा खर्च विवरणमाथि अनुसन्धान गरेको थियो।