टर्की र सिरियामा भूकम्प गएको बहानामा केही व्यक्तिले मानिसलाई ठग्ने चेतावनी सुरक्षा विज्ञहरूले दिएका छन्। यसका लागि उनीहरुले झुटा कारण देखाएर चन्दा दिन आग्रह गरिरहेको जानकारीसमेत दिएका छन्।
टर्कीमा ४० हजारभन्दा धेरैको ज्यान जानेगरी गएको भूकम्पपछि अत्यावश्यक परेकालाई सहयोग गरेको दाबी धेरैले गरिरहेका छन्। धेरैले सहयोग पनि गरेका छन्। तर केही त्यस्ता मानिस समाज र सामाजिक सञ्जालमा भेटिएका छन् जसले साँच्चै सहयोग गरिरहेका छैनन्।
त्यति मात्र नभएर खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्नुको सट्टा यी मानिसहरूले दान गरिएको पैसा आफ्नै खाता र क्रिप्टोकरेन्सी वालेटहरूमा पठाइरहेका छन्। बीबीसीले यी ठगले प्रयोग गरिरहेका केही विधिहरू पहिचान गरेको छ। यसका साथसाथै केही यस्ता औजारहरू पनि पहिचान गरिएको छ जसलाई खाँचोमा परेका मानिसहरूलाई सहयोग गर्नुअघि प्रयोग गर्न सकिनेछ।
‘टर्कीका लागि प्रार्थना गर्नुहोस्‘
टिकटक लाइभका लागि सामग्री बनाउनेहरूले डिजिटल उपहार प्राप्त गरेर पैसा कमाउने गरेका छन्। अहिले तिनै टिकटक एकाउन्टहरूले विनाशका तस्बिर, भिडियो र टिभी रेकर्डिङहरू पोस्ट गर्दै आवश्यक परेकाहरूलाई मद्दत माग्न उद्धार प्रयासहरू देखाउने गरिरहरेका छन्। त्यसो गर्दा यी व्यक्तिहरूले ‘टर्कीलाई मद्दत गरौं’, ‘टर्कीका लागि प्रार्थना गर्नुहोस्,’ ‘भूकम्प पीडितहरूको लागि दान गर्नुहोस्,’ जस्ता क्याप्सनहरू प्रयोग गरिरहेका छन्।
यसै प्रयोजनका लागि एक खातालाई तीन घण्टाभन्दा बढी समयको लागि लाइभ गरिएको थियो। यस लाइभमा विनाशको हवाई दृश्य र बम विस्फोटका आवाजहरू प्रयोग गरिएको थियो। जब क्यामेरा बन्द हुन्छ, एक व्यक्तिको हाँसोको आवाज सुनिन्छ र त्यो व्यक्ति अंग्रेजीबाहेक कुनै देशको भाषा बोल्छ।
यो भिडियो प्रसारण गर्दा यसको अंग्रेजी क्याप्सन थियो, ‘दान गरेर टर्कीलाई मद्दत गरौं’।
दोस्रो भिडियोले विष्फोटबाट भागिरहेको विचलित बालकको तस्बिर देखाउँछ। लाइभ स्ट्रिम गर्ने व्यक्तिले ‘कृपया यो लक्ष्य हासिल गर्न मद्दत गर्नुहोस्’ भनिरहेका छन्। यसो गर्दा टिकटक उपहारहरूको स्पष्ट माग छ।
तर भिडियोमा देखाइएको बालकको तस्बिर गत हप्ताको भूकम्पको तस्बिरर होइन। रिभर्स इमेज टुल मार्फत तस्विरको जाँच गर्दा यो तस्विर सन् २०१८ मा ट्वीटरमा पोष्ट गरिएको पाइएको थियो। त्यसबेला पोस्ट गर्दा लेखिएको थियो, ‘अफ्रिन नरसंहार बन्द गर’।
यदि तपाईं टिकटकमा उपहार दिन चाहनुहुन्छ भने त्यहाँ एक महत्त्वपूर्ण कुरा दिमागमा राख्नु पर्छ। बीबीसीले अनुसन्धानमा टिकटकले डिजिटल उपहारको ७० प्रतिशत लिने गरेको पाए पनि टिकटकले ७० प्रतिशतभन्दा कम लिने गरेको बताएको छ। ‘टर्की र सिरियामा गएको विनाशकारी भूकम्पबाट हामी गहिरो दुःखी छौं र भूकम्प पीडितको राहत कार्यमा सहयोग गरिरहेका छौं,’ टिकटकका प्रवक्ताले अहिले भनेका छन्।
क्रिप्टोकरन्सीको लागि अपील र एआईले बनाएको तस्विर
ट्विटरमा मानिसहरूले क्याप्सनमा क्रिप्टोकरेन्सी वालेट लिंक राखेर भावनात्मक तस्बिरहरू पोस्ट गरिरहेका छन्। साथै मानिसलाई आवश्यक परेकाहरूको नाममा मद्दत गर्न आग्रह गरिरहेका छन्। एउटा खाताले १२ घण्टामा ८ पटक मद्दतको लागि एउटै अपिल पोस्ट गर्यो। यस पोष्टमा एक फायर फाइटरले भत्किएका भवनहरू बीच एउटा सानो बच्चालाई समातिरहेका छन्।
तर, पोस्टमा प्रयोग गरिएको तस्विर वास्तविक होइन। ग्रीक अखबार ओइएमए रिपोर्टमा छ कि यो एजियन फायर ब्रिगेड पैनागियोटिस कोट्रिडिसको मेजर जनरलले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) सफ्टवेयर मिडजर्नी प्रयोग गरेर बनाएका थिए।
आर्टिफिसियल इन्टेलिजेन्सले तस्विर बनाउँदा अक्सर गल्ती गर्छ र ट्विटर प्रयोगकर्ताहरूले यो फायर फाइटरको दाहिने हातमा पाँच भन्दा बढी औंलाहरू छन् भनेर तुरुन्तै ध्यान दिएको देखिएको छ। यसलाई थप पुष्टि गर्न बीबीसीको प्राविधिक अनुसन्धान हब द ब्लू रुमका कर्मचारीले उही सफ्टवेयर प्रयोग गरेर समान फोटोहरू बनाउने प्रयास गर्न आग्रह गरेका थिए। जब ग्रीक झण्डाको साथ हेलमेट लगाएर भूकम्पपछि साना बच्चाहरूलाई उद्धार गर्ने फायर फाइटरको फोटो सिर्जना गर्ने सफ्टवेयरले प्रयास गरेको थियो तब यीमध्ये केही विकल्पहरू आएका थिए।
यस बाहेक क्रिप्टो वालेटको ठेगानामध्ये एक २०१८ देखि ठगी र स्पाम ट्वीटको लागि प्रयोग गरिएको थियो। अन्य वालेटहरू रूसी सामाजिक मिडिया वेबसाइट भीकेमा अश्लील सामग्री सहित पोस्ट गरिएको थियो।
जब बीबीसीले अपील पोस्ट गर्ने व्यक्तिलाई सम्पर्क गर्यो, उनले यसलाई झुटो भएको अस्वीकार गरे। उनले कनेक्टिभिटी कमजोर भएको बताएका थिए। साथै उनले गुगल ट्रान्सलेट प्रयोग गरेर ट्विटरमा प्रश्नहरूको जवाफ दिएका थिए।
ती व्यक्तिले भने, ‘भूकम्प पीडितलाई पैसा जम्मा गरेर सहयोग गर्ने मेरो उद्देश्य हो। विपद् भएको ठाउँमा मानिसहरू समस्यामा परेका छन् र विशेषगरी बालबालिकालाई खानेकुरा छैन। म तपाईंलाई यो प्रमाणित गर्न रसिद देखाउन सक्छु।’ तर, रिपोर्ट तयार पार्दासम्म उनीहरुले न रसिद पठाएका छन् न त परिचयको प्रमाण नै दिएका छन्।
ट्विटर र पेपल
ट्विटरमा स्क्यामरहरूले मानिसहरूबाट पैसा लिन नक्कली खाता बनाउँछन् र त्यहाँ गरिएका पोस्टहरूलाई पेपल खाताहरूमा लिंक गर्छन्। सोनाटाइपका साइबर सुरक्षा विशेषज्ञ ए एक्स शर्मा भन्छन्- यी खाताहरूले समाचार लेखहरू रिट्विट गर्छन्, एकाउन्टलाई धेरै मानिसबीच पुर्याउनका लागि सेलिब्रेटीहरूको ट्वीटको जवाफ दिन्छन्।
शर्माले बीबीसीलाई भने, ‘उनीहरूले विपद् राहतको नाममा नक्कली खाताहरू बनाउँछन्, जुन वास्तविक संस्थाहरू र समाचार आउटलेटहरू जस्तै देखिन्छन्। तर यी खाताहरूबाट पैसा पेपल खाताहरूमा ट्रान्सफर गरिन्छ।’
उदाहरणको लागि, एउटा टर्की रिलिफ नामक खाता छ। यो खाता जनवरीमा खोलिएको थियो र केवल ३१ फलोअर छन्। यस खाताबाट पेपलमार्फत् भूकम्प पीडितहरुका लागि पैसा माग्ने गरिन्छ। पेपल खाताले अहिलेसम्म ९०० डलर चन्दा प्राप्त गरेको छ। यस रकम मध्ये ५०० डलर यो खाता बनाउने व्यक्तिले दिएका छन्। दाताहरूले यसलाई प्रमाणिक ठान्ने गरी यस्तो गरिएको हो।
हालैका दिनहरूमा टर्की र सिरियाका भूकम्प पीडितहरूलाई मद्दत खोज्ने पेपलमा सुरु गरिएका १०० भन्दा बढी खातामध्ये यो एउटा हो, जसमध्ये केही नक्कली छन्। शर्मा भन्छन्- सहयोगीहरूले विशेषगरी आफू टर्कीमा रहेको लेख्ने खाताहरूबाट टाढा रहनुपर्छ, किनकि पेपलले २०१६ देखि टर्कीमा काम गरिरहेको छैन। मानिसहरूले पेपल प्रयोग गरेर टर्कीबाट बाहिर मद्दत गरिरहेका छन्, तर जब मद्दतको लागि सोध्नेहरूले उनीहरू टर्कीमा छन् भन्छन्, यो खतरा हो।
केही अन्य कुराहरू पनि छन् जसबाट सावधानी अपनाउनु आवश्यक छ। यदि कसैले गुमनाम रूपमा मद्दत मागे वा चन्दाको नाममा थोरै रकमको कुरा गरे, त्यहाँ सावधानी अपनाउनु पर्छ। शर्माका अनुसार तपाईंले वास्तवमा परोपकार गर्ने व्यक्तिहरूसँग धेरै पैसा छ भन्ने अपेक्षा गर्नुहुन्छ, तर पनि आफ्नो पेपल कोष उठाउनेहरूसँग १०० पाउन्डभन्दा कम छ।
पेपलले ठगी गर्ने खाताहरू निलम्बित गरेको छ। पेपलका एक प्रवक्ताले बीबीसीलाई भने, ‘चन्दा स्वीकार गर्न पेपल प्रयोग गर्ने धेरैजसो मानिसहरूको नियत राम्रो छ, तर त्यहाँ केही छन् जसले मद्दत गरिरहेका मानिसहरूलाई धोका दिने प्रयास गर्छन्। पेपल टोलीहरू सधै लगनशिलताका साथ अनुसन्धान गर्ने र खाताहरू प्रतिबन्ध गर्न काम गरिरहेका छन्। विशेषगरी टर्की र सिरियामा भूकम्प जस्ता घटनालाई लिएर पनि यसो गरिरहेको छ, ताकी मानिसहरूले अघि बढेर सहयोग गर्न सक्छन्।’ ट्विटरले टर्की रिलिफ नामक खाता पनि निलम्बन गरेको छ।
कसरी धोखाधडीबाट बच्ने र सुरक्षित रूपमा मद्दत गर्ने
– आफ्नो देशमा परोपकारी संस्था खोज्ने
– ठगी गरेको थाहा भएमा सम्बन्धित निकायमा खबर गरी सामाजिक सञ्जालमा रिपोर्ट गर्ने
– ठगहरूले भावनात्मक भाषा, तस्विर र भिडियोहरू प्रयोग गर्छन्, त्यसमा ध्यान दिने
– सहयोगको नाममा यस्तो ठगी गर्ने कतिपयले आफूलाई कुनै परोपकारी संस्था वा सरकारसँग आवद्ध भएको बताएका छन्। यदि तपाई त्यो परोपकार वा सरकारी संस्थालाई दान गर्न चाहनुहुन्छ भने उनीहरूको वेबसाइटमा जाने र त्यहाँ गएर सिधै मद्दत गर्ने
- बीबीसी हिन्दीबाट