काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी भारत र चीनमा उडान भर्न कूटनीतिक तहमार्फत पहल भइरहेको बताएका छन्।
बिहीबार कास्कीको पोखरा विमानस्थलमा आयोजित पत्रकार भेटमा पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका अन्य सहरमा सीधा उडानका लागि मन्त्रालयले कूटनीतिक छलफल चलाएको जानकारी दिएका हुन्।
गत १७ पुसमा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिक उडान मात्र भइरहेका छन्। यहाँका पर्यटन व्यवसायीको छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग छ। मन्त्री किराँतीले भने, ‘पोखरादेखि सीधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि चौतर्फी पहल गरेका छौं। ठ्याक्कै यही समयदेखि भन्न नसके पनि मन्त्रालयले अधिक कोसिस गरिरहेको छ।’
नागरिक उड्डयन प्राधिकरणलाई पोखरा विमानस्थल कसरी चलाउन सकिन्छ भनेर कार्ययोजना ल्याउन निर्देशन दिइएको उनले बताए। नेपालका सबै विमानस्थल दैनिक कम्तीमा १५ घन्टा चल्ने व्यावसायिक कार्यक्रम आवश्यक रहेकाले मन्त्रालयका कर्मचारीलाई व्यावसायिक योजना ल्याउन आग्रह गरेको उनको भनाइ छ।
पर्यटनमन्त्री किराँतीले पोखरामा गत १ माघमा भएको विमान दुर्घटनापछि मनोवैज्ञानिक आतंक रहेकाले त्यसलाई न्यूनीकरण गरिनु आवश्यक रहेकामा जोड दिए।
विमान दुर्घटना छानबिनका लागि सरकारले गठन गरेको समितिले दुर्घटनाको प्रारम्भिक प्रतिवेदन तयार गरी बुधबार मात्र बुझाएकाले सम्पूर्ण प्रतिवेदन प्राप्त भएपछि घटनाको यथार्थ विवरण बाहिर ल्याइने मन्त्री किराँतीले जानकारी दिए।