झापा- झापामा सात महिनामा भएका सवारी दुर्घटनामा ७५ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ ४५७ सवारी दुर्घटना भएका छन्। उक्त दुर्घटनामा ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोककुमार जवेगुले जानकारी दिए।
कार्यालयका अनुसार साउनमा १२, भदौमा पाँच, असोजमा १६, कात्तिकमा नौ, मंसिरमा १४, पुसमा १२ र माघमा सातजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ५७ पुरुष, १४ महिला, दुई बालक र दुई बालिका छन्।
ती दुर्घटनामा १०७ जना गम्भीर घाइते भएका छन्। १३९ जना सामान्य घाइते भएका कार्यालयले जनाएको छ।
दुर्घटना हुने सवारीमा ४३३ ओटा मोटरसाइकल, ४६ टेम्पो, ५९ साना सवारी, ३२ बस, १७ ट्रक, छ ट्रिपर, १८ ट्याक्टर र ५९ ओटा जिप–कार रहेका प्रमुख जवेगुले जानकारी दिए।
प्रहरीले चालु आवको माघ मसान्तसम्म रू दुई करोड दुई लाख छ हजार पाँच सय राजवस्व संकलन गरेको छ। ट्राफिक नियम उल्लंघन गर्ने २८ हजार ८०० सवारीलाई कारबाही गरी उक्त राजस्व संकलन गरिएको हो।
कार्यालयले चार हजार १३४ ओटा दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालनालगायत विभिन्न सचेतनामूलक कार्यक्रमसमेत गरेको छ। उक्त कार्यक्रममा एक लाख सात हजार ४२ जनाको सहभागिता रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।