काठमाडौं– निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्याल ६ वर्षे पदावधि पूरा गरी अवकाशमा गएका छन्। बिहीबार आयोगमा आयोजित कार्यक्रममा आयुक्त पौड्याललाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, सचिव र कर्मचारीले माला र दोसल्लासहितको सम्मान टक्र्याएर बिदाबारी गरेका हुन्।
बिदाइ अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधान र कानुनको पालना गर्दै मुलुक र जनताको हितमा निष्ठापूर्वक सेवा गर्ने अग्रजका रूपमा आफूले आयुक्त पौड्याललाई पाएको उल्लेख गरे। आयोगको छविलाई उच्च राख्न पौड्यालले खेलेको भूमिका सराहनीय रहेको उनले दाबी गरे।
आयुक्त पौड्यालले निष्ठा, सदाचारिता र व्यावसायिकतालाई मूल मन्त्र मानेर सार्वजनिक सेवामा काम गरेको स्मरण गरे। उनले नयाँ संविधानपछि कानुनी र व्यवस्थापकीय अनुभव अभावबीच २०७४ को निर्वाचन सफल बनाइएको सुनाए।
कानुनको इमानदारपूर्ण पालनाबाट संवैधानिक आयोगको गरिमा बढ्ने विश्वास उनले व्यक्त गरे। आयोगमा ५ फागुन २०७३ मा आयुक्तका रूपमा राष्ट्रपतिबाट नियुक्त पौड्यालले त्यसअघि करिब तीन दशक निजामती सेवामा व्यतीत गरी विशिष्ट श्रेणी (सचिव) बाट अवकाश पाएका थिए।