काठमाडौं– बुद्धनगरस्थित आफ्ना भाइको घरमा बस्दै आएका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला ग्यास सिलिन्डर आगलागीमा परेपछि प्रयोगकर्ता सर्वसाधारणमा त्रास फैलिएको छ। खाना पकाउने ग्यास सिलिन्डर बलियो र भरपर्दो रहेको दाबी गर्दै नेपालका ग्यास बिक्रेता कम्पनीले सर्वसाधारणका चुल्हाचौकामा पु्र्याइरहेका छन्। तर पछिल्लो समय ग्यास सिलिन्डर विस्फोटका घटना घट्नुको साटो झनै बढिरहेका छन्।
बुधबार बेलुकी मात्रै नीति निर्माण थलोको नेतृत्व गर्ने सांसद नै ग्यास सिलिन्डरको सिकार हुनुपर्यो। सांसद भण्डारीलाई ग्यास सिलिन्डर विस्फोटका कारण गम्भीर घाइते भई नेपालमा राम्रो उपचार नभएको भन्दै थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारतको मुम्बई लैजाने अवस्थासमेत देखियो। सांसद नै ग्यास सिलिन्डर आगलागीमा परेर गम्भीर घाइते हुनु र उनकी आमाको निधन भइसक्दासमेत प्रहरीले हालसम्म के कारणले घटना भएको हो भन्नेबारे गहिरो अध्ययन गरिरहेको मात्रै जानकारी दिएको छ। यसअघि पनि ग्यास सिलिन्डर विस्फोटमा परेर मृत्यु हुने र अंगभंग हुनेहरूको संख्या बाक्लो छ।
गत वर्षको लक्ष्मीपूजाकै दिन १९ कात्तिक २०७८ मा ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए। ग्यास सिलिन्डर विस्फोटबाट लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको ललितपुर प्रहरीले उतिबेलै बताएको थियो। ग्यास सिलिन्डर विस्फोटमा परेर मृत्यु हुनेमा एकै परिवारका बुबा, दिदी, श्रीमती र छोरा थिए।
३० असोज २०७७ मा काठमाडौं महानगर–१६ सोह्रखुट्टेस्थित फलफूलचोकमा रहेको एक घरमा दिउँसै नेपाल ग्यासको सिलिन्डर विस्फोट हुँदा तीनतले घर पूर्ण रूपले क्षतिग्रस्त भएको थियो। स्व. श्याम केसीको घरमा सिलिन्डर पड्किँदा वरपरका १२–१४ घरसम्म क्षति पुगेको तथा ११ जना घाइते भएको तत्कालीन काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र राठौरले पत्रकार सम्मेलन गरेरै जानकारी दिएका थिए। त्यतिबेला नेपालमा कोरोना महामारीले खेदा खनिरहेको थियो। कोरोना लागेर दुई दिनअघि मात्र घरधनी केसीको मृत्यु भएको थियो। उनको मृत्युपछि भुइँ तलामा केसीका छोरा–बुहारी र श्रीमती किरिया बसेका थिए। उनीहरूलाई भेट्न तीन जना आफन्त पनि पुगेका थिए। दिउँसो पौने १२ बजेतिर खानेकुरा पकाउन एउटा सिलिन्डर बालेको केही समयपछि ग्यास लिक भएर पाइप जलेसँगै सिलिन्डर नै विस्फोट भएको थियो।
खाना पकाउने एलपी ग्यास सिलिन्डर उपभोक्ताको भान्सामा 'काल' बनेर बसिरहेको पछिल्ला घटनाले देखाइरहेको छ।
त्यतिबेलाको घटनामा ग्यास उद्योग संघ अध्यक्षकै नेपाल ग्यासको सिलिन्डर विस्फोट भएको थियो। उनले नेपाल ग्यास उपभोक्ताको रोजाइमा परिरहेको र कम्पनीले सबै सुरक्षा उपाय अपनाएर घरका भान्सामा पुर्याउँदै आएको दाबी गरेका थिए। उनले ग्यास सिलिन्डर सुरक्षित बनाउन सरकारको नियमन र व्यवसायीको इमान दुवै हुनुपर्ने आवश्यकता औंल्याएका थिए। सिलिन्डर विस्फोटले हुने दुर्घटनाको जोखिम न्यूनीकरण ग्यास उद्योग संघको पहलमा १ करोड रुपैयाँसम्मको बिमा गरिँदै आएको छ। यो बिमा रकम क्षतिअनुसार दिइने गरेको संघले बताएको छ।
सात वर्षअघि भारतीय नाकाबन्दीका बेला हेटौंडाको सानोपोखरास्थित नापी कार्यालयमा सहारा ग्यास सिलिन्डर विस्फोट हुँदा ९७ घाइते र २ जनाको मृत्यु भएको थियो। नाकाबन्दीले ग्यास हाहाकार भएपछि सरकारको निर्देशनमा उद्योगीले आधा ग्यास (७.१ किलो) भरिएको सिलिन्डर बिक्रीमा ल्याएका थिए। नापी कार्यालय रहेको भुइँ तलामा साना होटल थिए। तीमध्ये एउटा होटल सञ्चालकले ग्यास बचत गर्न स्टोभ बालेर चिया पकाउन खोजेका थिए। स्टोभ बाल्ने क्रममा आगोको ठूलो लप्का बल्यो र त्यो लप्काले नजिकै ग्यास सिलिन्डरमा जोडेको प्लास्टिकको पाइपलाई भेट्यो। पाइप छिनभरमा पग्लेर आगो लागेलगत्तै ग्यास विस्फोट भएको थियो। ग्यास सिलिन्डर विस्फोटलगत्तै नापी कार्यालयमा सेवा लिन आएकाहरू हाम फाल्दा कैयौं अंगभंग भएका थिए। उक्त घटनामा ९७ जना घाइते भएका थिए। दुई जनाको त सिलिन्डर विस्फोटकै कारण ज्यानसमेत गएको थियो।
यी त प्रतिनिधि उदाहरण मात्रै हुन्।
खाना पकाउने एलपी ग्यास सिलिन्डर उपभोक्ताको भान्सामा काल बनेर बसिरहेको पछिल्ला घटनाले देखाइरहेको छ।
खाना पकाउने ग्यास सिलिन्डर नेपालका उत्पादन होइनन्। भारतबाट नेपालमा ल्याएर उतैबाट आएको तरल ग्यास भरेर नेपाली उपभोक्ताका भान्सामा पुर्याइने गरेको छ। तर ग्यास सिलिन्डर विस्फोटका घटनाले जोखिम बढाए पनि हालसम्म सरकारी स्तरबाट नियन्त्रणको खासै प्रयास भएको देखिँदैन। नेपालमा सरकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नापतौल विभागले ग्यास सिलिन्डर सुरक्षित भए/नभएको बेलाबेलामा अनुगमन गर्दै आएका छन्। ग्यास सिलिन्डर विस्फोट भएपछि सम्बन्धित कम्पनीका उत्पादनलाई कारबाही गरेको वा उपभोगमा बन्देज लगाएको भने अहिलेसम्म सुनिएको छैन। सरकारी संयन्त्रको कमजोर अनुगमनका कारण भान्सामा पुग्ने गरेका ग्यास सिलिन्डरले सयौंको ज्यान लिइसके पनि सुरक्षाको उचित व्यवस्था सरकारले गर्न सकेको छैन।
बुधबार मात्रै ग्यास सिलिन्डर विस्फोटमा परेर गम्भीर घाइते भएका र आमालाई समेत गुमाउन पुगेका सांसद भण्डारीमाथि आइलागेको आकस्मिक घटनाले पनि ग्यास सिलिन्डरमाथि कडाइ गर्नुपर्ने देखाएको छ। सांसद भण्डारीको अनुहार, दुवै हातखुट्टा गरी करिब ३० प्रतिशत भाग जलन भएको कीर्तिपुरस्थित बर्न अस्पतालले विज्ञप्ति नै जारी गरिसकेको छ। करिब ७० प्रतिशत भाग जलेपछि उनकी आमाको निधन भएको छ।
आमा हरिकलाले राती साढे १० बजे ग्यासबाट गन्ध आएको बताएलगत्तै सिलिन्डरको स्वीच खुलै रहेको ठानेर ‘अफ’ गर्न किचन पसेका सांसद भण्डारीले बिजुली बत्ती बाल्नासाथ आगलागी भएपछि उक्त दुर्घटना निम्तिएको प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रहरीका अनुसार बुद्धनगरस्थित भाइको घरमा भुइँतलामा बस्ने सांसद भण्डारी आमाले ग्यास सिलिन्डर लिक भएर गन्हाएको जानकारी दिएपछि किचनमा गएका थिए। राती साढे १० बजे ग्यासको स्वीच खुलै रहेको ठानेर ‘अफ’ गर्न किचन पसेका सांसद भण्डारीले बिजुली बत्ती बाल्नासाथ सिलिन्डरमा आगलागी भएपछि उक्त दुर्घटना निम्तिएको प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रारम्भिक अनुसन्धानबाट सुरुमा किचेनमा ग्यास लिक भएको आमाले जानकारी दिएपछि बुझ्न जाँदा सांसद भण्डारीले ‘अन’ गरेको बत्तीबाटै सिलिन्डरमा आगो सल्किएको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालले बताए। किचेनमा पुगेर सांसद भण्डारीले बत्ती बाल्ने क्रममा एक्कासि आगोको झिल्का आएर विस्फोट भएको देखिएको उनको अनुमान छ। उनले भने, ‘बत्ती बाल्न खोज्दा स्पार्क निस्केर एक्कासि आगो लागेर सिलिन्डर विस्फोट भयो भन्ने बुझिएको छ। यसबारे थप अनुसन्धान गरिरहेका छौं।’
ग्यास सिलिन्डरमा आगलागी भएर विस्फोट हुँदा घरको फल्स सिलिङ, झ्यालका सिसा फुटेका छन्। विस्फोट भएको थाहा पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो। त्यसपछि घाइते सांसद भण्डारी र उनकी आमालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।
ग्यास सिलिन्डर विस्फोटका घटना हुनुमा पुरानो सिलिन्डर पनि कारण हुन सक्ने प्रहरीको अनुमान छ। कुनै पनि ग्यास सिलिन्डरको आयु १५ वर्षसम्म हुने गर्छ। तर नेपालमा त्यसको पालना नगर्दा ग्यास सिलिन्डर विस्फोटले अकालमै नागरिकले ज्यान गुमाउनु परिरहेको छ। ग्यास सिलिन्डरमा रेगुलेटर, पाइपलगायत सामान पुरानो हुँदा पनि विस्फोट हुने गरेको छ।