वीरगन्ज- वीरगन्जबाट प्रतिबन्धित लागूऔषध सहित चार जना युवक पक्राउ परेका छन्। भारतको रक्सौलबाट लागूऔषध लिएर आएका उनीहरूलाई प्रहरीले बुधबार बेलुकी वीरगन्ज महानगरपालिका वडा नंबर १६ स्थित डाँफे होटलबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय राज मन्सुरी ,१९ वर्षीय विशाल मोक्तान ,वडा नम्बर ७ का २० वर्षीय राजु राना मगर र धादिङको गजुरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय अजय तमांग रहेका छन्।
उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध डाइजेपाम–५० एम्पुल, नुरफिन–५० एम्पुल, फेनारगन–५० एम्पुल बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए।
विशेष सूचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले होटलमा पुगेर खानतलाशी गर्दा ती युवकहरूले प्लाष्टिकको झोलामा लुकाइ छिपाइ राखेको लागुऔषध बरामद गरेको गिरिले बताए।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको गिरिले जानकारी दिए।