काठमाडौं– कांग्रेस सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी थालिएको छ। सांसद भण्डारी र उनकी आमा ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएका थिए।
कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत भण्डारी र उनकी आमालाई चिकित्सकले नेपालमा उपचार सम्भव नभएकाले विदेशको कुनै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरिसकेका छन्।
सांसद भण्डारीलाई डाक्टरको सिफारिसअनुसार मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लैजाने तयारी थालिएको उनको सचिवालयले जानकारी दिएको हो। भण्डारीकी आमाको कीर्तिपुरमै उपचार गरिनेछ।
बुधबार राती बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला जलेर घाइते भएका थिए।
राती नै कीर्तिपुर अस्पतालमा लगिएका उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ। अस्पतालले सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको बुलेटिन सार्वजनिक गरेको छ।
आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको बताइन्छ।