काठमाडौं- नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लैजाने तयारी भएको छ।
कीर्तिपुरको बर्न अस्पतालमा उपचार गराइरहेका नेता भण्डारीलाई थप उपचारको लागि दिल्ली लैजाने तयारी भएको हो। गएराति बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी र उनकी आमा गम्भीर घाइते भएका छन्।
आमाको अवस्था झन धेरै चिन्ताजनक रहेको डाक्टरले बताएका छन्। २५ प्रतिशत शरीर जलेका चन्द्रको आइसियुमा उपचार भइरहेको छ।
आमाको ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको छ। अस्पतालले नेपालमा उपचार सहज नभएकाले देशबाहिर सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको छ।
भण्डारीको स्वास्थ्यवस्था बुझ्न कांग्रेसका नेता कार्यकर्ताहरू अस्पताल पुगिरहेका छन्। अस्पतालमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भण्डारीको अनुहारमा चोट लागेको बताए।
'उहाँको आइसीयूमा उपचार भइरहेको छ। थप सुरक्षीत उपचारका लागि अस्पतालले अन्यत्र लैजान आग्रह गरे अनुसार भारत लैजाने तयारी भइरहेको छ,' उनले भने।