काठमाडौं– गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार काठमाडौंको बालाजुस्थित नयाँ बसपार्क क्षेत्रमा भएको आगजनी र लुटपाटमा संलग्नमाथि सूक्ष्म छानबिन गरी कारबाही गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले घटनामा संलग्न जुनसुकै पार्टीका मान्छे भए पनि कारबाही गर्न निर्देशन दिएका हुन्।
सोमबार गोंगबु बसपार्कभित्र मोबाइल पसलका सटरभित्र पसेर यातायात मजदुरका नाममा उच्छृंखल समूहले लुटपाट गरेको थियो भने प्रहरीका दुई भ्यान र बिटसमेत जलाइदिएको थियो। प्रधानमन्त्री प्रचण्डले राजनीतिक आवरणमा हुने कुनै पनि लुटपाट र आगजनी सह्य नहुने चेतावनीसमेत दिए।
उनले भने, ‘गोंगबुमा सोमबार भएको घटनालाई गम्भीर रूपमा लिएको छु। राजधानीमै भएका यस्ता घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि र कारण खोतलेर दोषीमाथि गहिरो अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुस्।’
छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यातायात मजदुरका नाममा स्थिति भड्काउँदा अप्रिय घटना घटेको जानकारी प्रधानमन्त्रीलाई दिएका थिए। घटनाको छानबिन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएको ब्रिफिङ प्रधानमन्त्रीलाई गरिएको थियो।