कास्की- नेपाली मौलिक घरको झ्याल–ढोका, तोरण र टुँडालमा कला खोप्ने काम परापूर्वकालदेखि सुरू भएको हो।
नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान महत्वपूर्ण छ। मठ, मन्दिर, घर, सत्तल पाटीलगायत स्थलमा नेपाली काष्ठकलाको नमूना भेट्न सकिन्छ।
पछिल्लो समय काष्ठकला हराउँदै जान थालेको छ। कास्कीको पोखरामा एउटा परिवार काष्ठकला उद्योगले नै पालिएको छ। पोखरा महानगरपालिका–३ अर्चलबोटका चन्द्रमान कपालीको परिवार यसकै भरमा जीविकोपार्जन गर्दैआएको छ।
पोखरा–३ तेर्सापट्टीमा चन्द्रमानको लुभिना उड कार्भिङ काष्ठकला उद्योग छ। उनी बिहानदेखि बेलुकासम्म उद्योगमै व्यस्त रहन्छन्। कपालीकी श्रीमती बिनी श्रेष्ठले पनि फुर्सदको समयमा उनलाई साथ दिन्छिन्। काठलाई कुँदेर आकार दिँदादिँदै श्रीमान श्रीमतीको दैनिकी बितिरहेको छ।
चन्द्रमानले काठसँग साइनो जोडेको २० वर्षभन्दा बढी भयो। विसं २०६१ मा पोखरा आएर व्यावसयिक रूपमा लागेका कपाली अहिलेसम्म यही पेसामा छन्। उनले काठको काम सानैदेखि सिकेका हुन्। पुर्ख्यौली थलोमा सबैले काठमा बुट्टा भर्ने काम गर्ने गरेको उनले सम्झिए।
‘ललितपुर बुङ्मतीमा धेरैले काठको काम गर्छन्। मैले पनि बाजुबाजेले गरेको हेरेरै सिकेको हुँ’, कपालीले भने, ‘विसं २०६१ मा पोखरा आएँ, त्यसपछि मेरो कमाइ खाने माध्यम नै यही बनेको छ।’
पोखरामा काम थालेको केही वर्षपछि उनी काठको काम गर्न मुस्ताङ पुगे। मुस्ताङमा केही वर्ष काम गरेर फर्केपछि कपालीले पोखरामा लुनिभा उड कार्भिङ सञ्चालन गरिरहेका छन्। उनलाई तन्नेरी उमेरमा साथीहरू विदेश जाँदा पनि कहिल्यै विदेशिने सोच आएन।
‘सानैदेखि यही कामले मन तान्यो। हातमा सीप भएपछि आम्दानी पनि राम्रै भयो’, उनले भने, ‘साथीहरू कोही–कोही विदेश गए। मलाई त कहिल्यै जामजाम जस्तो लागेन।’ अहिले कपालीको परिवारको खर्च काष्ठकलाले धानेको छ।
‘म यो कामबाट सन्तुष्ट छु। यो कामले सबैथोक दिएको छ’, उनले भने, ‘यसबाट भएको आम्दानीले खान पुगेको छ।’
काष्ठकलाको आम्दानीले उनले पोखरामा घर किनिसकेका छन्। श्रीमतीको साथले उद्योग चलाउन सहज भएको उनी बताउँछन्।
कामदारलाई दिनुपर्ने पैसा जोगिएको कपालीकी श्रीमती बिनीले बताइन्। छोराछोरीलाई विद्यालय पठाएपछि बचेको समय काममा सघाउने गरेको उनले बताइन्।
‘श्रीमानले थालेको कामबाट सन्तुष्ट छु’, उनले भनिन्।
कपालीको उद्योगमा झ्यालढोका बाहेक कलात्मक काठका मायाको चिनोलगायत सामग्री पाइन्छन्। कलात्मक काठको मूल्य एक हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म पर्छ। यही पेसाबाट सबै खर्च कटाएर मासिक रु ३५ हजारसम्म बचत हुने गरेको उनले बताए। पछिल्लो समय काठको कलात्मक काम लोप हुँदै गएकामा कपाली चिन्ता व्यक्त गर्छन्। आधुनिक जमानामा मेसिनबाट बुट्टा भर्ने काम हुने भए पनि हातले बनाएको जस्तो राम्रो नहुने कपालीको तर्क छ।
‘हातले नै कुँदेर यसरी सामान बनाउने काम विस्तारै हराउँदै जान थालेको छ’, उनले भने, ‘मैले त कलात्मक काम गर्छु। यस्तै कामबाट बन्ने ठेका, ठेकी, मदानी, मादलजस्ता काम लोप हुँदै जान लागेको छ। यसलाई बनाउनु जरूरी छ।’
कलात्मक काष्ठ उद्योगको काम सिक्न खोज्नेलाई आफूले जानेको सिकाउन तयार रहेको उनले बताए।