काठमाडौं– प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले संगठनमा आबद्ध कर्मचारी जुनसुकै बेला शान्ति–सुरक्षा सुदृढ बनाउन तम्तयार अवस्थामा रहनुुपर्ने बताएका छन्। बुधबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र मातहतका प्रहरी कार्यालयका प्रमुखलाई प्रहरी मुख्यालय नक्सालमा निर्देशन दिँदै उनले यस्तो बताएका हुन्।
प्रहरी महानिरीक्षक सिंहले कुनै पनि अपराधका घटना हुन नदिन प्रहरी कर्मचारीको सक्रियता महत्त्वपूर्ण रहने उल्लेख गरे। उनले जिम्मेवारीलाई पूर्ण रुपमा सम्पादन गर्न निर्देशन दिए।
सिंहले हालै बालाजु र गोंगबु बसपार्कभित्र भएका लुटपाट एवं आगजनीका घटनाको समीक्षा गर्दै सम्भावित घटनाको पूर्वानुमान गरी तयारी अवस्थामा रहन उपत्यकाका प्रहरीलाई निर्देशन दिए। आमनागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिने संस्था प्रहरी नै भएको बताउँदै उनले भने, ‘हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुन सक्ने घटनाको पूर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकताअनुरूप कानुनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनू।’
घटनालाई गम्भीरताका साथ लिएर संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी चुक्न नहुनेमा सिंहले जोड दिए। ट्राफिक जाँचलाई अझ व्यवस्थित गराउनुपर्ने उल्लेख गर्दै आर्थिक पारदर्शितामा शून्य सहनशीलताको नीति अवलम्बन गरी सबै प्रहरीले व्यावसायिक भएर जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ।
प्रहरी महानिरीक्षक सिंहले फरार अभियुक्त पक्राउलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने तथा अपराध अनुसन्धानमा गम्भीर भएर काम गर्न मातहतका निकायलाई आग्रह गरे।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले संगठन प्रमुखबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवं सोही कार्यालयअन्तर्गतका प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी प्रतिबद्ध रहेको बताए।