काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले टर्कीमा गत साता गएको विनासकारी भूकम्पबाट प्रभावितको सहयोगका लागि विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ।
महासंघले भूकम्प प्रभावित क्षेत्रमा पठाउन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो।
महासंघबाट पठाइएको सहयोग सामग्रीमा ज्याकेट, ट्राउजर, स्लिपिङ ब्याग, स्यानेटरी प्याड, डाइपर, मेडिकल ग्लोब्स, ब्यान्डेज, अक्सिजन मास्क, क्यानुला, स्किन सेटप्लर र आईभी सेट आदि रहेका छन्। सहायता सामग्रीका लागि रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको समेत सहयोग रहेको महासंघले जनाएको छ।
यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिमा परेका नागरिकका लागि मानवीय सहायता उपलब्ध गराउँदै आएको महासंघले बताएको छ।