टर्की र छिमेकी सिरियामा अघिल्लो सोमबार गएको शक्तिशाली भूकम्पपछि उद्धार अझै जारी छ। समाचार संस्था रोयटर्सका अनुसार भूकम्पको ८ दिनपछि उद्धारकर्ताहरूले कम्तिमा ७ जनालाई जिवितै उद्धार गरेका छन्।
दक्षिण टर्कीस्थित एउटा भवनको भग्नावशेषबाट १८ वर्षीय मोहम्मद क्याफरलाई जिवितै उद्धार गरेका छन्।
यस्तै युक्रेनी उद्धारकर्मीहरूले दक्षिण टर्की प्रान्त हातेस्थित भवनको भग्नावशेषबाट एक महिलालाई जिवितै उद्धार गरी अस्पताल पठाएका छन्। सोही प्रान्तबाट उद्धारकर्मीले थप २ महिलाको जिवितै उद्धार गरेका छन्।
यस्तै उद्धारकर्मीले छिमेकी कहरामनमारस प्रान्तस्थित एक अपार्टमेन्टको भग्नावशेषबाट दुई दाजुभाइलाई जिवितै उद्धार गरेका छन्। १७ वर्षीय मोहम्मद एनेस येनिनार र उनका दाजु २१ वर्षीय बाकी येनिनारलाई उद्धार गरी अस्पताल पुर्याइएको हो।
सोही प्रान्तबाट अर्की एक महिलाको पनि जिवितै उद्धार गरी अस्पताल पठाएको टर्किस मिडियाले जानकारी दिएका छन्। भूकम्पबाट टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ।