फिदिम- पाँचथरमा भीरबाट लड्दा बृद्धको ज्यान गएको छ। जिल्लाको मिक्लाजुङ गाउँपालिका-७ स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बूको ज्यान गएको हो।
मोरङको लेटाङ नगरपालिका-८ खैरेनी निवासी लिम्बू ३५ बर्षीय श्रीमती सरिता लिम्बू र दुई जना छोराछोरीसहित पाँचथर ससुराली घर आउने क्रममा माघ २९ गते भीरबाट लडेका थिए। भीरबाट लडेका हस्तबहादुरको मंगलबार विहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईले जानकारी दिए।
घट्नाका विषयमा श्रीमतीले २ दिन ढिला गरी मंगलबार बिहान मात्रै प्रहरीमा निवेदन दिएको पनि राईले बताए। जानकारी पाए लगत्तै प्रहरी चौकी खान्द्रोङबाट खटेका प्रहरी र स्थानीयले खोजी गर्दा हस्तबहादुरलाई भीरबाट लडेर मरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
लिम्बूको शव मिक्लाजुङ-६ खोलागाउँ नजिकको जंगलमा पर्ने पैदल मार्गको भीरदेखि ५ सय मिटर टाढा भेटिएको राईको भनाई छ। कानूनी प्रकृया पुरा गरी लिम्बूको शब आफन्तलाई बुझाउनसँगै घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ।