काठमाडौं– सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाईओभर निर्माण थालेसँगै सडकमा ट्राफिक जाम बढेपछि सर्वसाधारणलाई सास्ती हुन थालेको छ। गत शनिबारदेखि ग्वार्को चोकमा फ्लाईओभर निर्माण सुरु भएपछि चक्रपथ रुटमा चल्ने सवारीसाधनको भीडका कारण ट्राफिक जाम हुन थालेको हो।
फ्लाईओभर निर्माण १४ महिनाभित्र सक्ने सरकारी लक्ष्य छ। चक्रपथ विस्तार आयोजनाअन्तर्गत ग्वार्को चोकमा निर्माण गरिन लागेको फ्लाईओभर ६ मिटर उचाइको हुनेछ। ४५५ मिटर लम्बाइको फ्लाईओभरमा ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्न १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्याम्प निर्माण गरिनेछ।
फ्लाईओभर निर्माण नहुन्जेल बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपांग्र्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपांग्र्रे सवारीलाई द्रुत मार्गबाट सञ्चालन गरिए पनि सडक जाम कम हुन सकेको छैन।
चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलंकीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाईओभर निर्माण गर्ने योजनाअनुसार सरकारले पहिलो चरणमा ग्वार्को चोकमा निर्माण थालेको हो।