आइतबार, जेठ १२, २०८२

बालाजु घटनाः सत्ताधारी यातायात मजदुरको वितण्डा

ट्राफिक प्रहरी र सरकारसमक्ष आफ्ना माग राखेर आन्दोलित हुनुपर्ने यातायात मजदुर संगठनमा आबद्ध माओवादीहरूले ल्होत्से मलमा जीविकोपार्जनको माध्यम बनाउँदै आएका व्यवसायीका ८ करोड बढी मूल्यका मोबाइल लुट्दासमेत पुलिस प्रशासनले अनदेखा गरेको देखिन्छ।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

काठमाडौं– ट्राफिक प्रहरीले ३ पुसदेखि सवारी नियम उल्लंघन गर्नेलाई न्यूनतम जरिमाना १ हजार ५०० हुने घोषणा गर्‍यो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकमा सवारी दुर्घटना बढेसँगै ट्राफिक प्रहरीलाई जरिमाना शुल्क १ हजार ५०० सम्म लिन पाउने गरी अधिकार हस्तान्तरण गर्‍यो। हुन त यसअघि यस्तो शुल्क तीन चरणमा गरी ट्राफिकले लिन पाउँथ्यो। 

सरकारले अधिकार दिएसँगै सडक यातायातलाई सुरक्षित र नागरिकमैत्री बनाउन ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेलाई १ हजार ५०० रुपैयाँको रसिद काट्न थालेको थियो। यद्यपि सोमबारको घटनापछि सरकार पुरानै मूल्यमा जरिमाना लिन सहमत भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख डिआइजी मिरा चौधरीले बताइन्। 

राज्यले बनाएको नियम ठूलाबडा जोकोहीलाई लागू हुनुपर्छ। यसमा यातायात व्यवसायी र चालक नपर्ने कुरै भएन। उपत्यकामा सार्वजनिक यातायात नागरिकका लागि बाध्यात्मक छ। नागरिक पिरलोको मौका छोपेर यातायात व्यवसायी खासगरी बस, माइक्रो, मिनीबस, सफा टेम्पोलगायतका सवारीसाधनले सरकारले तोकेभन्दा बढी भाडा असुलिरहेका छन्। यतातर्फ सरकारी निकाय मुकदर्शकजस्तै देखिन्छ।

उपत्यका ट्राफिक प्रहरीले सडक यातायातलाई सहज बनाउन तोकिएबाहेकका स्थानमा सार्वजनिक सवारी रोक्न कडाइ गर्दै आएको छ। ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेलाई तत्कालै तोकिएबमोजिमको १ हजार ५०० रुपैयाँको रसिद थमाउँथ्यो। यसबाट उपत्यका खासगरी चक्रपथमा गुड्ने सार्वजनिक सवारीसाधनबाट हुने गरेको जाम केही मात्रामा हट्ने देखिएको थियो।

तर यातायात व्यवसायीले आफूले चाहेको ठाउँमा रोक्न पाउनुपर्ने, ट्राफिक जरिमाना पुरानै कायम गरिनुपर्ने र गोंगबु बसपार्क सञ्चालन जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले लिने सेवाशुल्क घटाउनुपर्नेलगायतका माग राखेर सोमबार बेलुकी बालाजु क्षेत्रमा वितण्डा मच्याए। 

प्रजातन्त्रमा जोकोहीले शान्तिपूर्ण रुपमा आफ्ना समस्या सरकार र सम्बन्धित निकायसँग खुला रुपले राख्न सक्छन्। वार्ताको माध्यमबाटै समस्या समाधान हुने गरेको विगतका घटनाक्रमले पनि देखाइसकेका छन्। सत्तारुढ माओवादी निकट यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलका पसलमाथि तोडफोड र लुटपाट भयो। ट्राफिक प्रहरी र सरकारसमक्ष आफ्ना माग राखेर आन्दोलिन हुनुपर्ने माओवादी निकट यातायात मजदुर कार्यकर्ताले ल्होत्से मलमा जीविकोपार्जनको माध्यम बनाउँदै आएका व्यवसायीका पसल लुट्दासमेत पुलिस प्रशासनले आँखा चिम्लिएको देखियो। 

ट्राफिक प्रहरी र सरकारसमक्ष आफ्ना माग राखेर आन्दोलित हुनुपर्ने यातायात मजदुर संगठनमा आबद्ध माओवादीहरूले ल्होत्से मलमा जीविकोपार्जनको माध्यम बनाउँदै आएका व्यवसायीका ८ करोड बढी मूल्यका मोबाइल लुट्दासमेत पुलिस प्रशासनले अनदेखा गरेको देखिन्छ।

सत्तारुढ दल हुनुको फाइदा लिएर माओवादी निकट यातायात मजदुर संगठनमा आबद्ध गुन्डाहरूले ८ करोड बढी मूल्यका मोबाइल लुटेको व्यवसायीको दाबी छ। यस घटनाको परिदृश्य नियाल्दा माग एकातिर र उद्देश्य अर्कैतिर रहेको जोकोहीले बुझ्न सक्छ। 

सोमबार यातायात मजदुरका नाममा माछापोखरी र नयाँ बसपार्क क्षेत्रमा भएको अराजक घटनामा सहभागीले तीन ठाउँका मोबाइल पसलमा लुटपाट गरेको व्यवसायीले बताएका छन्। यद्यपि नेपाल मोबाइल व्यवसायी संघले मजदुर नामधारी लुटेराहरूले १० करोड बराबरको मोबाइल लुटेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ। ल्होत्से मलमा मोबाइल पसल सञ्चालन गरेका अर्जुन चालिसे लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउँछन्। चालिसे नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्षसमेत हुन्। लुटेराहरूले मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपुर्जासमेत लगेको दाबी गरे। यसबारे १०० मिटर वर र बसपार्क काउन्टर परिसरमा रहेको प्रहरीलाई जानकारी गराउँदासमेत सुरक्षा नदिएको उनको गुनासो छ। 

सिसीटिभी फुटेजमा मोबाइल पसलका सटर खोलेर माओवादी निकट यातायात मजदुर संगठनमा आबद्ध व्यक्तिले लुटपाट गरिरहेको विभिन्न सामाजिक सञ्जालका दृश्यमा जोकोहीले पनि प्रस्टै देख्न सकिन्छ। मोबाइल पसलमा लुटपाट र तोडफोडको घटना भएसँगै देशभरका मोबाइल व्यवसायी काठमाडौंमा भेला हुँदै गरेको उपाध्यक्ष चालिसेले बताए।

यस्तै, ल्होत्से मलमा मोबाइल व्यवसाय गरिरहेका सागर वाग्लेले पसल लुटपाट हुँदा प्रहरी प्रशासन कहीँ पनि नदेखिएको गुनासो गरे। उनले भने, ‘पसल तोडफोड र लुटपाट हुँदा प्रहरी रमिते भयो। सत्तारुढ दल निकट मजदुरको वितण्डा नरोक्न प्रहरीलाई कतैबाट निर्देशन आएजस्तो लाग्यो।’ यातायात मजदुर आन्दोलनको नाममा लुटेराहरूले पसल लुटेको नेपाल मोबाइल व्यवसायी महासंघ उपाध्यक्ष सोभित प्रसाईंले दाबी गरे। नांगो खुकुरी लिएर माओवादी निकट मजदुरले खुलेयाम मोबाइल पसलमा डकैती गरेको उनको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातमा गृह मन्त्रालय रहेकै कारण आफ्ना मजदुरलाई समर्थन गर्दा यस्तो घटना भएको उनले आरोप लगाए। 

माओवादी मजदुरको कुतर्क– ल्होत्सेबाटै मोबाइल लुटपाट, आगजनी

सरकारसँग वार्तामा सहभागी सत्तारुढ माओवादी निकट यातायात व्यवसायीका नेताहरूले सोमबार भएको घटनाको सबै जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने अडान अगाडि सारेका छन्। ल्होत्सेकै कर्मचारीले भड्काएपछि माओवादी निकट यातायात मजदुरले प्रहरीका दुई भ्यान, बिटमा आगजनी, मल तोडफोड र मोबाइल लुटपाट भएकहो उनीहरूको दाबी छ। ल्होत्सेले गोंगबुस्थित नयाँ बसपार्क निर्माण, सञ्चालन र व्यवस्थापन गर्न काठमाडौं महानगरसँग ४५ वर्षको सम्झौता गरेको छ।

सोमबार ४ बजेदेखि बालाजु बसपार्क क्षेत्र अशान्त बनेको थियो। माओवादी निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात संघले संयुक्त रूपमा गरेको आन्दोलन उग्र बनेको थियो। आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गर्दा २० बढी सुरक्षाकर्मी घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी हिमालयकुमार श्रेष्ठले बताए।

प्रहरीले ढुंगामुढा गर्ने, प्रदर्शन गर्ने, मोबाइल लुट्ने गिरोहमध्ये हालसम्म १२ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ।

यातायात मजदुरले बढाइएको ट्राफिक प्रहरीको जरिमाना खारेजलगायत १० बुँदे माग राखेर सोमबार बेलुकीदेखि गरेको आन्दोलन अराजक हुँदा सर्वसाधारणले सास्ती पाए। काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द आह्वान गरेका माओवादी निकट यातायात मजदुरले मंगलबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री नारायणकाजी श्रेष्ठसहितको सरकारी टोलीसँग वार्ता गरेपछि संघर्षका कार्यक्रम फिर्ता लिएको घोषणा गरेका छन्। 

प्रकाशित: Feb 14, 2023| 12:49 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।