काठमाडौं– प्रहरी मुख्यालयले यातायात मजदुर संगठनका नाममा सोमबार बेलुकी गोंगबु र माछापोखरी क्षेत्रमा भएको अराजक हिंसा रोक्न नसकेको आरोपमा प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाएको छ। विष्टलाई उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाइएको हो।
उपत्यका प्रहरी कार्यालयका एआईजी दिवेश लोहनीका अनुसार प्रहरी वृत्त बालाजुमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ। माछापोखरी क्षेत्रमा माओवादी निकट यातायात मजदुरले प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेका दुई वटा गाडीमा आगजनी गरेका थिए।
प्रदर्शनमा डीएसपी विष्ट चढ्ने बा२झ १४४ नम्बरको स्कोर्पियो पिकअप यातायात मजदुरले जलाएका थिए। प्रहरी वृत्त बालाजुको बा१झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाइदिएका थिए। मजदुरका नाममा अराजक समूहले अराजकता मच्याउँदासमेत स्थिति नियन्त्रणमा लिन नसकेपछि विष्टलाई फिर्ता बोलाइएको बताइन्छ।