काठमाडौं– मालपोत कार्यालयबाट नागरिकलाई दिइने सेवा पारदर्शी र गुनासोरहित हुन नसकेपछि सेवा प्रवाह चुस्त बनाउन टाइम कार्ड लागू गरिने भएको छ। नियामक भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा २ घन्टाभित्रै सम्पन्न हुने गरी कार्य सम्पादनको व्यवस्था मिलाउन निर्देशन दिएको हो।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सबैले देख्ने र बुझ्ने गरी २ घन्टाभित्र काम सम्पन्न गर्ने जानकारीसहितको नागरिक बडापत्रको व्यवस्था मिलाउन निर्देशन दिइएको बताए। मोरङलगायत मुलुकका विभिन्न भागमा रहेका मालपोत कार्यालय र नापीको अनुगमनपछि उनले सेवाग्राही र लेखापढी व्यवसायीबाट पनि मालपोतबाट प्रदान गरिने सेवालाई प्रभावकारी तुल्याउन सहयोगको अपेक्षा गरे।
मालपोत, नापी, स्थानीय तह, वडा कार्यालय, लेखापढी व्यवसायीले अन्तरसम्बन्धित काममा समन्वय आवश्यक रहेको बताउँदै सचिव डा. रेग्मीले भने, ‘लेखापढी व्यावसायीले लिने सेवाशुल्कलाई पारदर्शी बनाउनुपर्छ। लागतभन्दा बढी सेवाशुल्क लिनुभएन।’
मन्त्रालयले मालपोत भूमि प्रशासनसँग जोडिएका कार्यालयमा टोकन प्रणाली, सेवाग्राही प्रतीक्षालय, पिउने पानीसहितको हेल्पडेस्क स्थापना गर्न निर्देशन दिएको छ।