काठमाडौं- सरकार र आन्दोलनरत यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ। मंगलबार बिहान ८ बजेबाट वार्ताका लागि बोलाइएको भए पनि ढिलोगरी वार्ता सुरु भएको हो।
१० बुँदे मागसहित मजदुर आन्दोलनमा उत्रिएपछि सरकारले वार्तामा बोलाएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मजदुर नेतासँग मन्त्रालयमै वार्ता भइरहेको छ।
बालाजु, माछापोखरीलगायतका ठाउमा पार्किङ गरेर यात्रु चढाउँदै आएका यातायात मजदुरले ट्राफिकले उक्त एरियामा पार्किङ निषेध गरी बसपार्कमा मात्रै पार्किङ गर्नुपर्ने नियम ल्याएको थियो। यो नियमका विरुद्ध यातायात व्यवसायी प्रदशर्नमा उत्रिएका हुन्।
नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारीसाधन ठप्प पार्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार मंगलबार बिहानैबाट काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका छन्।