काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले पाँच वर्ष अवधिको ‘११.२५ ग्लोबल आइएमई बैंक डिबेन्चर ०८४/८५’ निष्कासन गरी बिक्री खुला गरेको छ। बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यको पाँच अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो।
निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् तीन अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी दुई अर्ब रुपैयाँबराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने बैंकले जनाएको छ। सर्वसाधारणलाई निष्कासन गरिएको ऋणपत्रमध्ये सामूहिक लगानी कोषका लागि छुट्याएको ५ प्रतिशत अर्थात् एक लाख कित्तामध्ये बिक्री हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्री गरिने बैंकले उल्लेख गरेको छ। यसर्थ सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋणपत्र खरिद गर्न सक्ने जनाइएको छ।
ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने जनाइएको छ। निष्कासन तथा बिक्री छिटोमा फागुन ३ गते र ढिलोमा फागुन १४ गते बन्द हुने बैंकले जनाएको छ। सन्राइज क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको यो पाँच वर्ष अवधिको ऋणपत्रमा वार्षिक ११.२५ प्रतिशतका दरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ।
लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू एवं तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्ने जनाइएको छ। बैंकले हाल देशका ७७ वटै जिल्लामा तीन सय ६५ शाखा, तीन सय ६९ एटिएम, तीन सय २१ शाखारहित बैंकिङ सेवा, ६३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ।