काठमाडौं- अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को ४६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। नाडाका अध्यक्ष ध्रुव थापाको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो।
कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल सबैका लागि आवश्यक बन्दै गएको बताए। नाडाका अध्यक्ष थापाले सरकारले अटोमोबाइलका साधनहरूलाई विलासिताको वस्तु मात्रै मान्दै आएको भन्ने भनाइको जबाफ दिँदै अर्थमन्त्री पौडेलले अहिले यातायातका लागि सवारीसाधन सबैका लागि आवश्यक बन्दै गएको उल्लेख गरे।
मन्त्री पौडेलले अहिले सवारीसाधनहरू विलासिताका वस्तु नभई आवश्यकताको वस्तु भएको स्पष्ट पारे। नाडाका अध्यक्ष थापाले अटोमोबाइल व्यवसाय अहिले इतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताए।
अध्यक्ष थापाका अनुसार अहिले अटोमोबाइल क्षेत्रमा झन्डै १ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने पारदर्शी रूपमा कर तिर्ने व्यवसाय पनि अटोमोबाइल नै रहेको बताए। साधारणसभामा नाडाले राजधानीको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान दिने ४ जना ट्राफिक प्रहरीहरूलाई कदरपत्रबाट सम्मान गरेको थियो। त्यस अवसरमा नाडा अटोमोबाइल ट्रेड डाइरेक्टरी २०२३ को ३४औँ अंकसमेत सार्वजनिक गरिएको थियो।