बुधबार, वैशाख २४, २०८२

चिराइतोको मूल्य बढेपछि किसान उत्साहित

लिम्बूले कुनै समय एकै सिजनमा ६५ मनसम्म चिराइतो बिक्री गरेका थिए। कुल एक सय ६८ रोपनी जग्गामा चिराइतो खेती विस्तार गरेका उनले यसबाट राम्रो आम्दानी पनि गरिरहेका छन्।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ का केसिङ लिम्बु चिराइतोले राम्रो मूल्य पाउन थालेपछि उत्साहित भएका छन्। कोरोनापछि घट्दो क्रममा रहेको चिराइतोको बजार मूल्य यसपटक भने बढ्न थालेको छ। त्यसैले यस सिजनमा थप जग्गा भाडामा लिएर भए पनि चिराइतो खेती गर्ने लिम्बुको योजना छ।

लिम्बूले कुनै समय एकै सिजनमा ६५ मनसम्म चिराइतो बिक्री गरेका थिए। कुल एक सय ६८ रोपनी जग्गामा चिराइतो खेती विस्तार गरेका उनले यसबाट राम्रो आम्दानी पनि गरिरहेका छन्।

‘प्रतिमन २१ हजारका दरले एउटा सिजनमा ६५ मन चिराइतो बिक्रीबाट १३ लाख ६५ हजारसम्म आम्दानी गरे’, लिम्बुले भने। कोरोना महामारअघि ताप्लेजुङ, पाँचथर, इलाम, तेरथुम, संखुवासभा भोजपुरलगायत जिल्लामा उत्पादन भएको चिराइतो टिप्पताला नाका हुँदै चिनियाँ बजारमा निर्यात हुन्थ्यो।

टिप्पताला नाकासम्म हेलिकोप्टरबाट चिराइतो ढुवानी हुन्थ्यो। कोरोना महामारीमा उक्त नाका बन्द भएपछि चिराइतोको कारोबार ठप्प बनेको हो। चार वर्षसम्म चिराइतोको बजार ठप्प भएसँगै लिम्बूले चिराइतो खेती नै छोडेका थिए।

‘चार वर्षपछि अहिले चिराइतोले राम्रो बजार मूल्य पाएको अवस्था छ’, व्यवसायी गोविन्द बरालले भने, ‘चार वर्षअघि प्रतिमन पाँच हजारमा झरेको चिराइतोको भाउ अहिले ३० हजारसम्म खरिदबिक्री भइरहेको छ।’

Metro Mart
worldlink

बरालका अनुसार पछिल्लो समय भारतीय बजारमा चिराइतोको माग बढ्न थालेको छ। मूल्य बढेसँगै व्यवसायीहरू चिराइतो संकलन गर्न गाउँ/गाउँ पुग्न थालेका छन्।

चिराइतो खोजी गर्दै गाउँ/गाउँमा व्यापारी आएसँगै लिम्बु जस्ता किसान फेरि चिराइतो खेतीमा फर्कन थालेका छन्। कोरोनाका कारण नाका बन्द हुँदा घरमै थन्क्याएर राखेको चिराइतो अहिले धमाधम बिक्री हुन थालेको हो।

हिमाली भेगमा मात्र उत्पादन हुने चिराइतो पाखा बारीमा बीउ लगाएपछि करिब ३० महिनापछि बिक्री योग्य हुने फक्ताङलुङ गाउँपालिका-४ इखाबुका चिराइतो किसान धनबहादुर लिम्बूको भनाइ छ। गाउँघरमा ज्वरो तथा रूघाखोकीका बिरामीलाई चिराइतो खुवाउने चलन छ।

आर्थिक वर्ष २०७८/८९ मा  पाँच हजार आठ सय केजी चिराइतो संकलन भएको डिभिजन वन कार्यालय ताप्लेजुङ निमित्त प्रमुख एवम् सहायक डिभिजन वन अधिकृत बद्रीप्रसाद शाहले बताए।

छुट पुर्जीका लागि प्रतिकेजी १५ राजस्व जम्मा गर्नुपर्दछ। पाँच हजार आठ सय केजी चिराइतो संकलन हुँदा ८७ हजार राजस्व जम्मा भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ।

वन कार्यालयको तथ्यांकअनुसार ताप्लेजुङमा आर्थिक वर्ष २०७७/७८ मा १६ हजार तीन सय केजी चिराइतो संकलनबाट दुई लाख ४४ हजार पाँच सय बढी राजस्व संकलन भएको छ। जिल्लामा वार्षिक ३५ हजार केजीसम्म चिराइतो उत्पादन हुने गरेको छ।

प्रकाशित: Feb 13, 2023| 01:05 सोमबार, फागुन १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्