साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पहिरो गएको छ। आज नेप्से ६०.७७ अंकले ओराली लागेको हो। परिसूचक आज २१ सय २१.८६ अंकमा अडिएको छ। यो गिरावट २.८७ प्रतिशत हो।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षासँगै यसको असर सेयर बजारमा परेको हो। गत शुक्रबार केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको थियो। त्यसपछि पहिलोपल्ट खुलेको सेयर बजारमा ठूलो गिरावट आएको हो।
मौद्रिक नीतिले बैंक ब्याजदरसँगै सेयर धितो (मार्जिन लेन्डिङ) को १२ करोडको सीमा खारेजीको विषयमा कुनै निर्णय नगरेपछि लगानीकर्ता निराश बन्न पुगेका हुन्।
आइतबार कारोबार रकम भने ३ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। आज ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर कारोबार भएको हो।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। हाइड्रोपावर, फाइनान्स लगायतका उपसमूहको सूचक ४ प्रतिशतभन्दा धेरैले घटेको छ।
खप्तड लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै करिब ५ प्रतिशतले बढेको छ भने सामलिङ पावर, सयपत्री हाइड्रोपावर, बाराही हाइड्रोपावरको सेयरमूल्य २ प्रतिशतभन्दा धेरै बढेको छ।
यता सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै करिब ७ प्रतिशतले घटेको छ भने ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, बरुण हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयरमूल्य उच्च दरमा घटेको छ।
आइतबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १४ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने ङादी ग्रुप पावर, अपि पावर र अपर तामाकोशी हाइड्रोपावरको उच्च सेयर कारोबार भएको छ।