आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशस्थित नेपाली दूतावासमा राखिँदै श्रमिक हेल्प डेस्क

विदेशस्थित नेपाली दूतावासमा राखिँदै श्रमिक हेल्प डेस्क

विदेशस्थित विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधन गर्न छुट्टै हेल्प डेस्क राख्ने निर्णय गरिएको हो।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं– सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिक भलाइका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि विदेशस्थित नेपाली दूतावासमा हेल्प डेस्क राख्ने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको हो।

प्रधानमन्त्री प्रचण्डले माघ पहिलो साता श्रम सचिवसहित मन्त्रालयका अधिकारीलाई सिंहदरबारस्थित कार्यालयमा बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीले अनेकौं झमेला र सास्ती भोग्नुपरेको बताउँदै विदेशमा रहेका नेपाली कामदारका समस्या सम्बोधन गर्न हेल्प डेस्क राख्न निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशन पाएपछि गृहकार्यमा जुटेको मन्त्रालयले विदेशस्थित विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधन गर्न छुट्टै हेल्प डेस्क राख्ने निर्णय गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले भने, ‘विदेशमा रहेका नेपाली कामदारका समस्याबारे प्रधानमन्त्रीले चासो राख्दै हेल्प डेस्क राख्न भन्नुभएको थियो। प्रधानमन्त्रीको निर्देशनपछि आवश्यक गृहकार्य गरेर यो निर्णयमा पुगेका छौं। सरकारको यो निर्णयले विदेशमा रहेका सबै श्रमिकको पेसागत हकहित, सुरक्षा र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास छ।’

परराष्ट्र मन्त्रालयमा समेत श्रमिकका समस्या समाधानार्थ समन्वय गर्न छुट्टै डेडिकेटेड फोकल प्वाइन्ट तोकी कार्यारम्भ गर्ने निर्णय भएको छ। यसबाट विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिकका समस्या तत्काल सम्बोधन हुने अपेक्षा मन्त्रालयको छ।

प्रकाशित: Feb 12, 2023| 12:35 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्