काठमाडौं– कांग्रेस नेता एवं सांसद डा. शशांक कोइरालाले जनमत संग्रहमार्फत नेपाललाई हिन्दु राष्ट्र बनाइछाड्ने अठोट व्यक्त गरेका छन्। निर्वाचन क्षेत्र नवलपुरको गैंडाकोट–१० पितौजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञलाई सम्बोधन गर्दै बीपीपुत्रसमेत रहेका नेता डा. कोइरालाले नेपाल हिन्दु राष्ट्र हुनैपर्नेमा जोड दिएका हुन्।
उनले भने, ‘जनमत संग्र्रह गरेरै भए पनि नेपाललाई हिन्दु राष्ट्रमा परिणत गर्नुपर्छ। त्यसका लागि मेरो पहल र प्रयत्न जारी रहन्छ।’ नेता कोइरालाले राजनीति आफ्नो ठाउँमा रहे पनि ९० प्रतिशत बढी जनताको धार्मिक आस्थालाई बचाइराख्न पनि नेपाल हिन्दु राष्ट्र हुनुपर्ने आवश्यकता औंल्याए।
कोइरालाले कोटिहोम आश्रम स्तरोन्नतिका लागि सरकार, दातृ निकाय र भ्रातृ निकायमा पहल गर्ने आश्वासनसमेत दिए। श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रमको आयोजनामा जारी महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेका छन्।