बिहीबार, वैशाख २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विकास निर्माण सुस्त हुँदाको असरः इन्धन खपत ३० प्रतिशतले घट्यो

विकास निर्माण सुस्त हुँदाको असरः इन्धन खपत ३० प्रतिशतले घट्यो

नेपाली बजारमा अस्वाभाविक इन्धन मूल्य बढेसँगै विकास निर्माणले गति लिन सकेको छैन। राजनीतिक अस्थिरता, तोकिएको समयमा आयोजना निर्माण नहुनुको परिणाम इन्धन खपत घटेसँगै आयातमा समेत कमी आएको निगमको अनुमान।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं– सरकारी स्वामित्वको नेपाल आयल निगमले पछिल्लो ६ महिने अवधिमा इन्धन खपत ३० प्रतिशत हाराहारीले घटेको विवरण सार्वजनिक गरेको छ।

इन्धनमा अचाक्ली मूल्यवृद्धि, विकास निर्माणका काम ठप्प हुनुलगायत कारणले इन्धन खपत घटेको निगमले बताएको हो। खपत घटेसँगै आयातमा समेत कमी भएको निगमको तथ्यांक छ।

निगमका अनुसार आर्थिक वर्ष २०७९/८० को साउनदेखि १५ माघसम्म ६ लाख ६४ हजार ३५१ किलोलिटर डिजेल आयात भएको छ। अघिल्लो आवको सोही अवधिमा ९ लाख १० हजार ६३१ किलोलिटर डिजेल आयात भएको तथ्यांक निगमसँग छ। 

निगमका प्रवक्ता विनितमणि उपाध्याय इन्धन खपत घट्नुमा विकास निर्माण सुस्त हुनु रहेको औंल्याउँछन्। उनले भने, ‘विशेषगरी विकास निर्माणमा डिजेल खपत बढी हुने गर्छ। यो वर्ष विकास निर्माणको काम नहुँदा डिजेल खपतमा उल्लेख्य कमी आएको हो।’ चालू आवको पहिलो ६ महिने अवधि (१५ माघसम्म)मा डिजेल खपत २७ प्रतिशतले घटेको उनले बताए। 

नेपाली बजारमा अस्वाभाविक इन्धन मूल्य बढेसँगै विकास निर्माणले गति लिन सकेको छैन। राजनीतिक अस्थिरता, तोकिएको समयमा आयोजना निर्माण नहुनुको परिणाम इन्धन खपत घटेसँगै आयातमा समेत कमी आएको निगमको अनुमान।  
विशेषगरी डिजेल विकास निर्माण, औद्योगिक क्षेत्र, मालवाहक र ठूला सवारीसाधनमा बढी प्रयोग हुने गर्छ। अघिल्लो वर्ष नेपालमा मूल्य सस्तो हुँदा सामान लिएर आउने भारतीय सवारीसाधनले समेत डिजेल भरेर जाने गरेकामा अहिले भारतमा मूल्य सस्तो हुँदा उतैबाटै तेल भरेर यहाँ आउन थालेकाले पनि खपतमा कमी आएको हुन सक्ने प्रवक्ता उपाध्यायको अनुमान छ। 

भारतको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटर २५ रुपैयाँ महँगो छ। निगमका अनुसार चालू आर्थिक वर्षको साढे ६ महिनामा समग्र पेट्रोलियम आयात १६ प्रतिशतले घटेको छ। साढे ६ महिने अवधिमा १ खर्ब ५१ अर्ब ९४ हजार बराबरको १४ लाख ६ हजार ७४७ किलोलिटर इन्धन आयात भएको निगमको तथ्यांकमा उल्लेख छ। गत वर्ष सोही अवधिमा १६ लाख ८८ हजार ९२४ किलोलिटर आयात भएको थियो। निगमले डिजेल, पेट्रोल, हवाई इन्धन, एलपी ग्यास, मट्टीतेललगायतको कारोबार गर्दै आएको छ।

Metro Mart
worldlink

निगमले चालू आर्थिक वर्षको साढे ६ महिनामा पेट्रोल ३ लाख ६४ हजार ९५२ किलोलिटर आयात भएको बताएको छ। गत वर्ष सोही अवधिमा ३ लाख ९६ हजार ३३८ किलोलिटर आयात भएको थियो।  

चालू आर्थिक वर्षको १५ माघसम्म हवाई इन्धन ९७ हजार ९१६ किलोलिटर आयात भएको छ। गत वर्षको सोही अवधिमा हवाई इन्धन ८१ हजार ४०८ किलोलिटर आयात भएको निगमको तथ्यांक छ। यस्तै, सोही अवधिमा मट्टीतेल ५ हजार ८४४ किलोलिटर आयात भएको छ भने गत वर्ष सोही अवधिमा मट्टीतेल ९ हजार ८२ किलोलिटर आयात भएको थियो। 

निगमका अनुसार खाना पकाउने एलपी ग्यास २ लाख ७३ हजार ६८४ मेट्रिक टन आयात भएको छ। गत वर्ष सोही अवधिमा ग्यास २ लाख ९१ हजार १६५ मेट्रिक टन ग्यास आयात भएको थियो। 

हाल नेपालमा प्रतिमहिना ५१ हजार १४६ किलोलिटर पेट्रोल, १ लाख २ हजार २०७ किलोलिटर डिजेल, हवाई इन्धन १५ हजार ६४ किलोलिटर, मट्टीतेल ८९९ किलोलिटर र ग्यास ४२ हजार १०५ मेट्रिक टन खपत हुने गरेको निगमले जनाएको छ। निगमका अनुसार हाल पेट्रोलको मूल्य प्रतिलिटर १७८, डिजेल÷मट्टीतेल प्रतिलिटर १७५, हवाई इन्धन प्रतिलिटर १७० र ग्यास प्रतिसिलिन्डर १ हजार ८०० छ।  

गत वर्षको पुसदेखि रुस–युक्रेन युद्ध सुरु भएसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको छ। त्यसको प्रभाव नेपाली बजारमा पनि परेको निगमको दाबी छ।

प्रकाशित: Feb 12, 2023| 11:35 आइतबार, माघ २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्