काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ।
२०२३ बाट सञ्चालनमा रहेको विद्युत्गृहका उपकरण पुराना तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चौरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरिएको हो।
करिब ७५ करोड रुपैयाँ अनुमानित लागत रहेको जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत विद्युत्गृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणलाई आधुनिक तथा स्वचालित बनाइनेछ।
करिब ४०० रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवालाई हटाएर त्यसको पुनस्र्थापनाको काम सुरु गरिएको छ। साथै, जलाशयको दायाँ किनारतर्फबाट ५० क्युसेक पानी बहाव क्षमताको १ हजार २०० मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ।
अहिले यही बाइपास नहरमार्फत विद्युत् उत्पादन भइरहेको छ। नहर सञ्चालनमा रहेकाले विद्युत् उत्पादन बन्द नगरी जलाशयमा भरिहेको माटो, बालुवा निकाल्ने काम जारी छ।
गत वैशाखबाट सुरु भएको जलाशयको पुनस्र्थापना यही फागुनभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको छ। विद्युत्गृहलाई स्वचालित बनाउने काम भने एक वर्षभित्र सम्पन्न हुनेछ।
यसका लागि ठेक्का सम्झौता भई केही उपकरण उत्पादनको क्रममा रहेका छन् भने पावर ट्रान्सफर्मरलगायत उपकरण केन्द्र स्थलमा आपूर्ति भइसकेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले पुनस्र्थापना कार्यको अनुगमन भ्रमण गरी तोकिएको समय सम्पूर्ण काम सक्न निर्देशन दिएको छ।
जलाशय पुनस्र्थापना भएपछि विद्युत्गृहलाई विद्युत्को माग बढी हुने समय (पिक)मा दैनिक रुपमा ४ घन्टा पूर्ण क्षमतामा चलाउन सकिनेछ। हिउँदमा पिकिङका लागि पाइपास नहरबाट र जलाशयमा सञ्चित गरिएको पानी प्रयोग गरी विद्युत् उत्पादन गर्न सकिनेछ।
वर्षायाममा जलाशयलाई प्रयोगमा नल्याइने, खहरे खोलाबाट आउने लेदोलगायतलाई रोक्न संरचना निर्माण गरिएको हुँदा विगतमा जस्तो बालुवा, माटो भरिन नपाउने उल्लेख गर्दै केन्द्र प्रमुख बाबुराजा महर्जनले यसले गर्दा जलाशयको सञ्चित क्षमता गुम्न नपाउने बताए।
विदुर नगरपालिकाले जलाशय वरिपरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना तयार गरेको छ। जलाशयमा डुंगा चलाउने, खाली जग्गामा पैदल मार्ग तथा बगैंचा निर्माण गर्नेलगायतका योजना नगरपालिकाको छ।
भारतीय अनुदानमा त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिएको हो। अर्धजलाशययुक्त त्रिशूली जलविद्युत् केन्द्रबाट वार्षिक रूपमा १६ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने गरी डिजाइन गरिएको छ। गत आर्थिक वर्ष २०७८÷७९मा विद्युत्गृहबाट १३ करोड ७१ लाख युनिट विद्युत् उत्पादन भएको थियो। गत आवसम्ममा केन्द्रबाट ५ अर्ब ६९ करोड ३९ लाख युनिट विद्युत् उत्पादन भएको छ।
भारु १४ करोड सहयोगमा निर्माण भएको केन्द्रको सुरुको क्षमता २१ मेगावाट थियो। पछि यसको पुनस्र्थापनामार्फत क्षमता विस्तार गरी २४ मेगावाट पु¥याइएको हो। त्रिशूली जलविद्युत् केन्द्रको क्यास्केडका रुपमा १५ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र पनि सञ्चालित छ।