भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरूको अवैध ओसारपसार तथा कारोबारमा वृद्धि भएको भन्दै यसलाई रोक्न रुपन्देहीका व्यवसायीले माग गरेका छन्।
अटो मेकानिक्स व्यवसायी महासंघ र बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा ज्ञापनपत्र बुझाएका हुन्।
अवैध आयातका कारण वैधानिक रूपमा कर तिर्ने व्यवसायीहरू मारमा परेका तथा राज्यलाई प्राप्त हुने राजस्वको ठूलो हिस्सा पनि गुमिरहेको ज्ञापनपत्रमा उल्लेख छ। कोभिड–१९ का कारणले आक्रान्त भएका व्यवसायीहरू बैंकिङ नीतिमा आएको नीतिगत परिवर्तन तथा चर्को ब्याजले व्यवसाय धान्न मुस्किल भएको अवस्थामा यस किसिमका अवैध कारोबारका कारणले व्यवसायबाट नै पलायन हुने अवस्थामा पुगेको ज्ञापनपत्रमा जनाइएको छ।
यसका साथै राष्ट्रलाई पनि हानि भइरहेको सन्दर्भमा व्यवसायी र राज्य दुवै पक्ष मारमा परेको उनीहरूको ठहर छ। यसलाई साझा समस्याका रूपमा लिई सरोकारवाला निकाय, संघ–संस्था, भन्सार विभाग तथा प्रहरी प्रशासनको संयुक्त पहलमा अवैध कारोबारलाई निरुत्साहित गर्ने र अवैध कारोबारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ।