काठमाडौं- मृत्युशैय्यामा छटपटाइरहेको मानिसलाई कसैले रगत दान गरेर बचाउँछ भने त्यो सबैभन्दा ठूलो पुण्यको काम हो भन्दा अतिशयोक्ति नहोला। रगतका प्रत्यक थोपा-थोपामा जीवन छ। बाँच्नका लागि चाहिने प्रमुख तत्त्वमध्ये रगत एक प्रमुख तत्व हो। त्यसैले त भनिएको होला, 'रक्तदान नै जीवन दान हो।'
यही पुण्यकार्यमा जुटेका छन् धनगढीका पत्रकार दीपक उपाध्याय नेपाल। उनी उमेरले ४५ वर्ष भए। उपाध्यायले १८ वर्षको उमेरदेखि रक्तदान गर्न सुरु गरेका हुन्। ४५ वर्ष पुग्दासम्म उनले एक सय पटक रक्तदान गरिसकेका छन्। अर्को शब्दमा भन्दा उनले सय जनालाई जीवनदान गरिसकेका छन्। उनी प्रत्येक तीन/तीन महिनामा रक्तदान गर्छन्। बीचमा केही समय स्वास्थ्य समस्याले उनले रक्तदान गर्न सकेनन्।
आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो। नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ। समाजेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन्। नेपालमा बर्सेनी करिब तीन लाख युनिट रगत चाहिन्छ। त्यो रगतको अभाव उपाध्याय जस्तै मनकारी दाताहरूबाट पूर्ति हुँदै आएको छ।
रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्वनडाइअक्साइड, युरियाजस्ता विकार ओसार–पोसार गर्छ। रगतको रातो रक्तकणले अक्सिजन तथा कार्वनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्छ।
उपाध्याय रक्तदानमा प्रेरित हुनुको श्रेय आफ्ना दाजु विनोद उपाध्यायलाई दिन्छन्। जेसिजमा हुँदा दाइले रक्तदान कार्यक्रम गर्ने र रगत दिने गर्थे। दाइले त्यसरी रगत दिँदा र कुनै बिरामीको जीवन बचाउन रक्तदान गर्नुपर्छ भनेर ज्ञान बाँड्दा त्यसैबाट प्रेरित भएको उनले बताए। 'मैले रक्तदान गर्दा रेकर्ड बन्छ भनेर दिएको होइन। दिँदै जाँदा माघ २७ गते १००औं पटक रक्तदान गरें। जुन कार्यको योगदान गर्दै सम्मान पनि गरिएको छ मलाई,' उनले खुसी हुँदै भने।
उनी मानिसमा अझै पनि रक्तदान गर्दा स्वास्थ्यमा कुनै समस्या हुने हो कि भन्ने चेतनाको कमी रहेको बताउँछन्। रक्तदान गर्दा कुनै घाटा नहुने उपाध्यायको तर्क छ। '१८ वर्ष उमेर पुगेको स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्छ। रक्तदान गर्दा कुनै हानी हुँदैन। ९० दिन अर्थात तीन महिनामा रक्तकोषिकाहरू परिवर्तन भइरहेका हुन्छन्। त्यसैले शरीरमा त्यसै खेर जाने रगतले कसैलाई बचाउन सकिन्छ भने किन नबचाउनु,' उनी भन्छन्।
पुरानो रगत मर्ने र नयाँ रगत उत्पादन हुने भएकाले तीन महिना पारेर रक्तदान गर्दा अरुको जीवन बचाउन सकिने उपाध्यायको भनाइ छ। जनतामा चेतना फैलाउन नसकेकै कारण रक्तदान गर्दा कमजोर भइन्छ कि भन्ने मानसिकता समाजमा विद्यमान रहेको र उक्त अन्धविश्वास चेतनाका माध्यमबाट हटाउनुपर्ने उनले बताए। पहिलेभन्दा पछिल्लो समय मानिसमा चेतना भने बढ्दै गएको उनको बुझाइ छ।
रक्तदानका धेरै फाइदा छन् जुन उपाध्यायले बुझेका छन्। त्यसैले त उनी भन्छन्, 'रक्तदानले अरूको लागि मात्रै फाइदा गर्दैन। यसले आफ्नै शरीरलाई स्वस्थ राख्न पनि मद्दत गर्छ। रक्त क्यान्सर हुन सक्ने खतरालाई कम गर्छ। कलेजो र प्यान्क्रियाजमा हुने समस्यालाई कम गर्छ। मुटु सम्बन्धी समस्या र मोटोपनाको समस्यालाई पनि रक्तदानले कम गर्छ। अरुको जीवन बचाउने महत्त्वपूर्ण पुण्य त भइनै हाल्यो।'
त्यसैले त उपाध्यायले रक्तदान गर्दा उनका परिवारका मानिसहरू पनि खुसी हुन्छन् र रक्तदानका लागि प्रेरित गरिरहेका हुन्छन्। उनका बुबा नरनाथ उपाध्याय पनि छोराले रक्तदान गरेको सुन्दा खुसी हुन्थे। आमा त झनै रक्तदान गर्नेमात्र होइन, रक्तदान गरेको बिरामी कुनै समस्यामा भए त्यसका लागि पनि सहयोग गर्न सुझाव दिन्छिन्। जसले उनलाई रक्तदान गर्न प्रेरणामात्र प्रदान गरेको छैन सहयोगी भावले परिवारमा खुसीसमेत थपेको छ।
उनका दाइ, भाउजु, श्रीमती, दुई बहिनीले पनि रक्तदान गर्छन्। सबै परिवारले यसरी रक्तदानको महत्त्व बुझ्दा उपाध्याय खुसी छन्। त्यसैले त धनगढीमा कसैलाई आपत्कालिन रगत चाहिँदा उपाध्याय परिवारलाई धेरैले सम्झिन्छन्। 'मलाई दैनिक पाँचदेखि दश कल आउने गर्छ। मैले त्यसरी फोन आउँदा सकेको प्रयास गरेको छु। मलाई कल आउँदा रगतको समस्या हुन दिएको छैन। मैले त्यसरी आउँदा समाजिक सञ्जालमा कुन ग्रुपको रगत आवश्यक हो भनेर राख्छु। मसँग रक्तदाताहरूको फोन नम्बर पनि छ। उनीहरूको ब्लड ग्रुप र नम्बर राखेको छु। उनीहरूलाई पनि कल गरेर रगत जुटाउन थाल्छु', उनी भन्छन्।
यसका साथै नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्रमा पनि आफूले सम्पर्क गर्ने गरेको उनले बताए। रक्त्रसञ्चारमा कल गरेर उनी त्यहाँ भएको रगत दिन र त्यहाँ रिप्लेस गर्न अर्को मानिस पठाउँछु भन्छन्। सोही अनुसार रक्तसञ्चारले पनि सहयोग गर्छ र जसरी भए पनि आफूकहाँ पुगेको बिरामीले चाँडो रगत पाओस् भन्ने उपाध्यायको चाहना हुन्छ। ती निकायसँग आफ्नो राम्रो समन्वय रहेको उनले बताए।
उनले कैलालीमात्र नभएर सुदूरपश्चिबाट बाहिर रेफर भएका बिरामीका आफन्तले काठमाडौं, चितवन, नेपालगञ्जबाट पनि उनैलाई फोन गर्छन्। 'यसरी मलाई बाहिरबाट पनि फोन आउँछ। अहिलेसम्म रगत चाहियो भन्दा मैले कसैलाई पनि निरास पारेको छैन,' उनले भने। एक पटक सिकलसेलका बिरामीका लागि रक्तदान गर्दैगर्दा ज्यान गुमाएको घटनाले भने उनलाई सधैँ दुखी तुल्याइ रहन्छ। 'मेरो ६ महिना पुगेको थियो। मलाई रक्तदानका लागि कल आयो। म गएँ पनि। रगत दिइरहेको थिएँ। मेरो ब्लड झिक्दाझिक्दै उहाँको ज्यान गयो। अलि ढिलो सूचना पाएँ। समयमै सूचना पाएको भए उहाँको ज्यान जोगाउन सकिन्थ्यो। अलि ढिला सूचना पाएँ भन्ने मनमा खड्किरहन्छ,' उनले भने। उनको जीवनमा रक्तदान गर्दाका खुसीका पल पनि थुप्रै छन्।
'समय पुगेको भए पहिला म आफैँ रगत दिन्छु। त्यो भएन भने बिरामीका आफन्तकै अघि बसेर फोन गर्दै रक्तदातालाई सम्पर्क गर्छु। रक्तदाता भेटिँदा उहाँहरू निकै खुसी हुनुहुन्छ। कतिले त हामीले तपाईंलाई भगवानकै रूपमा पायौं भनेका छन्। कतिपय पहाडका बिरामीले निको भइसकेपछि घ्यु, मह जस्ता कोसेली नै ल्याउनुहुन्छ। लिन्न भन्दा पनि हाम्रो घरकै उत्पादन हो भन्नुहुन्छ। यस्तो खाले स्नेहले निकै खुसी तुल्याउँछ,' उनले अनुभव सुनाए। उनको रक्त समूह ए पोजेटिभ हो।
अहिले पनि रक्तदाताहरूको खाँचो रहेकाले स्वस्फूर्त रुपमा रक्तदान गर्न उनको आग्रह छ। विभिन्न संघसंस्थाले वार्षिक रूपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भए पनि चार पटक रक्तदान गर्न मिल्ने भएकाले वार्षिक क्यालेन्डर नै बनाएर चार पटक रक्तदान कार्यक्रमको आयोजना गर्नसके यो समस्या थोरै भए पनि हल हुने उनको विश्वास छ।
धनगढीमा सेती प्रादेशीक अस्पताल भएकाले त्यहाँ बाहिरबाट आउने बिरामीको संख्या ठूलो हुने र उनीहरूलाई रगतको समन्वय गर्न अभाव हुनेगरेको उपाध्यायले बताए। त्यसैले विभिन्न जिल्लाका समाज रहेकाले उनीहरूको नम्बर सबै ठाउँ बाँडिनु पर्ने धारणा राखे। त्यसो भए सम्बन्धित जिल्लाका मानिसलाई समन्वय गर्न सहज र छरितो हुने उनी बताउँछन्। उनले आगामी दिनमा पनि आफूले रक्तदान कार्यलाई निरन्तरता दिइरहने बताएका छन्।