काठमाडौं- वित्तीय क्षेत्रमा तरलता सुधार्न नेपाल राष्ट्र बैंकले लचक नीति लिने भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको ब्याजदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको दरमा उपलब्ध हुने व्यवस्था मिलाइने जनाएको छ।
शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा वित्तीय प्रणालीको तरलता स्थितिमा सामान्य सुधार भएको जनाएको छ। आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्ममा खुला बजार कारोबारमार्फत ४ सय १ अर्ब ९४ करोड तरलता प्रवाह गरिएको छ। यसैगरी यस अवधिमा बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत पटक–पटक गरी २ हजार ६ सय ९२ अर्ब ८३ करोड रकम राष्ट्र बैंकबाट उपयोग गरेका छन्।
गत वर्षको यसै अवधिमा खुला बजार कारोबारमार्फत ३ सय ५१ अर्ब ७ करोड खुद तरलता प्रवाह भएको थियो भने बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत पटक–पटक गरी ३ हजार १५ अर्ब ८९ करोड बराबरको रकम उपयोग गरेको राष्ट्र बैंकले जनाएको छ।
१ पुस २०७९ देखि ओभरनाइट तरलता सुविधा प्रयोगमा आएको छ। चालू आर्थिक वर्षको पुस महिनामा बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब ४८ करोड बराबरको दैनिक तरलता सुविधा र १२ अर्ब ८१ करोड बराबरको ओभरनाइट तरलता सुविधा उपयोग भएको बैंकले जनाएको छ।
त्यस्तै, चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विप्रेषण आप्रवाहमा भएको सुधार तथा आयातमा आएको कमीका कारण विदेशी विनिमय बजारमा विदेशी मुद्राको खरिद गरी ३ सय ५८ अर्ब ९० करोड बराबरको तरलता प्रवाह भएको छ। गत वर्षको यसै अवधिमा विदेशी मुद्राको खरिदमार्फत ८० अर्ब २६ करोड खुद तरलता प्रवाह भएको थियो।