काठमाडौं- तेह्रथुमको म्याङलुङ नगरपालिका-६, सुर्के चोकमा ट्याक्टर पल्टिएर च्यापिँदा एक वृद्धाको मृत्यु भएको छ।
हिजो बेलुका त्यहाँको वसन्तपुरबाट ग्यासको सिलिन्डर लिएर म्याङलुङ बजारतर्फ जाँदै गरेको को१त ५५३८ नम्बरको ट्याक्टर सडकछेउको घरमाथि पल्टिएको थियो। पैदलयात्री स्थानीय ६२ वर्षीय दलबहादुर लिम्बूलाई ठक्कर दिएर अनियन्त्रित भई ट्याक्टर पल्टिएको प्रहरीले जनाएको छ।
भान्साघरमा आगो तापिरहेकी ७६ वर्षीया हर्कमोती लिम्बू उक्त ट्याक्टरबाट च्यापिँदा गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा तेह्रथुम जिल्ला अस्पतालमा राति सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टरको ठक्करबाट घाइते भएका दलबहादुरलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ। ट्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएको छ।