बैतडी- बैतडीको पाटन नगरपालिका-६ स्थित जवरजल ढ्वानी भिरमा माघ १९ गते एक युवकको शव फेला पर्यो। मृत फेला परेका व्यक्ति डडेल्धुराका एक २० वर्षिय युवक थिए। भिरमा शव भेटिएकाले लडेर उनको मृत्यु भएको हुनसक्ने आंकलन गरिएको थियो।
मृतक डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २० वर्षीय पदम अवस्थी हुन्। शव झिक्दा भने मृतकको गोजीमा प्रहरीलाई दिन तयार पारिएको निवेदन र १० हजार रकमको चेक भेटियो। त्यसपछि लडेर मृत्यु भएको नभइ प्रहरीले हत्याको आशंकामा अनुसन्धान थालेको छ।
चेक २३ गतेका लागि काटिएको खुलेको जनाए पनि प्रहरीले निवेदनमा के उल्लेख गरिएको छ भन्नेबारेमा भने जानकारी दिएको छैन। शव फेला परेको एक हप्ता हुन लागेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।
मृतकको सम्पर्कमा आएका व्यक्तिहरुलाई सोधपुछको काम भइरहेको प्रहरीको भनाइ छ। अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा भने नलिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। पोष्टमार्टम रिर्पोट प्राप्त भएको र रिर्पोटको आधारमा अनुसन्धान अघि बढाएको पनि उनले बताए।
मृतक पाटनस्थित एक होटलमा काम गरेका व्यक्ति हुन्। मृतकका आफन्तका अनुसार उनी १७ माघमा नै आफूले काम गरेको होटलबाट पारिश्रमिक लिन भनी बैतडी आएका थिए। घटना रहस्यमय देखिएकाले निष्पक्ष छानबिन हुनुपर्ने आफन्तको माग रहेको छ।