धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। सुदूरपश्चिम संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने भनिए पनि ४ बजेसम्मका लागि प्रदेश सभा बैठक सारिएको छ।
रावलले विश्वासको मत लिने तयारी गरिरहँदा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाएको छ। नेपाल समयसँग कुरा गर्दै नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको बताएकी छन्।'हामी विश्वासको मत नदिने। विश्वासको मत नदिने निर्णय भइसक्यो,' उनले भनिन्।
प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्ने हुन्छ। ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन।
नागरिक उन्मुक्तिका संस्थापक रेशमलाल चौधरीलाई रिहाई नगरेको तर अर्का सांसद अरुण चौधरीलाई पक्राउ गरेपछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति रुष्ट रहेको छ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल रहेको र उनले विश्वासको मत पाउने अवस्था नदेखेपछि बुधबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग दुई चरणमा छलफल गरेका थिए।
ओलीसँगै एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, उद्योगमन्त्री एवं सहइन्चार्ज दामोदर भण्डारी सक्रिय रहे पनि उनीहरू सबैको प्रयास असफल भएको छ। भण्डारी बुधबार राति धनगढी पुगेका छन्। भट्ट र भण्डारीले नेकपा एकीकृत समाजवादी लगायतका दलसँग सत्ता सहकार्यको प्रस्ताव गरेका छन्।
काठमाडौंमा रहेका उन्मुक्तिका सांसदहरू सरकारलाई विश्वासको मत नदिने भएपछि शुक्रबारमात्रै धनगढी फर्किने भएका छन्।