वीरगञ्ज- हेल्मेटभित्र लुकाइछिपाइ ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र दुई हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले पर्सा जिल्लाको दुई जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका १६ स्थित वीरगञ्ज रक्सौला सडकखण्डबाट दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
भारत घर बताउने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रसंजित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया कमाण्डको टोलीले उक्त रुपैयाँसहित पक्राउ गरेको हो।
भारतीय नम्बर प्लेटको दुईवटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँसमेत फेला परेका थियो।
फेला पारिएको नेपाली रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ।