काठमाडौं– अपहरणमा परेको भनेर नाटक गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार मंगलबार काठमाडौंको नैकापमा केही व्यक्ति अपहरणमा परेको भन्दै सूचना आएको थियो। तर, अपहरणमा परेका भनिएका व्यक्तिहरुले नाटक गरेको भेटिएको छ।
अपहरणको नाटक गरेको आरोपमा पक्राउ पर्नेहरुमा काठमाडौंको चन्द्रगिरी नगरपालिका–१३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवनको भण्डारा राप्ती–५ घर काठमाडौंको नैकाप बस्ने ३३ वर्षीय दिलीप विक, सर्लाहीको बर्हथवा–६ घर भइ काठमाडौंको बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेको खानीखोला–१ घर भएका ४२ वर्षीय जगत बहादुर भोलान, काभ्रेको बनेपा–६ घर भएका ५३ वर्षीय कान्छामान जिम्बा र धादिङको थाक्रे गाउँपालिका–५ घर भइ काठमाडौंको कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा छन्।
अनुसन्धानका क्रममा उनीहरुले लेनदेनको विषयलाई लिएर अपहरणको नाटक गरेको खुल्न आएको प्रहरीले जनाएको छ।