काठमाडौं- सल्यान, संखुवासभा, मोरङ र सिन्धुलीमा गरी चार जना मृत फेला परेका छन्।
सल्यान, कालिमाटी गाउँपालिका-४ लामितारा बस्ने ६० वर्षीय छबिलाल तारामी मगर सोही ठाउँस्थित शारदा नदीमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। गत माघ ८ गतेदेखि घरबाट हराएका उनको इलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त नदीमा शव फेला पारेको हो।
संखुवासभा, भोटखोला गाउँपालिका-२ छुम्सुरस्थित निर्माणाधिन कोशी सडकमा सोही ठाउँमा काम गर्ने मकवानपुर बकैया गाउँपालिका-१ रजुवा बस्ने २२ वर्षीय प्रकाश गोले मंगलबार मृत अवस्थामा फेला परेका छन्।
मोरङ, विराटनगर महानगरपालिका-१७ गुद्रिस्थित सडक पेटिमा हाल पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।
सिन्धुली, कमलामाई नगरपालिका-८ करकरेस्थित पुड्के दमार सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। प्रहरीले सबै घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।