काठमाडौं- नेपाल राष्ट्र बैंकले माछापुच्छ्रे, सानिमा बैंकसहित ९ वाणिज्य बैंकका सिइओ तथा अध्यक्षलाई कारबाही गरेको छ।
माछापुच्छ्रे बैंकका सीईओलाई पुँजी पर्याप्तताको यथार्थ विवरण पेस नगरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको हो। सानिमाले तत्कालीन सिइओ भुवन दाहाललाई थप सेवा सुविधा दिएको भन्दै सचेत गराइको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन तथा नियम उल्लङ्घन गरेको आरोपमा प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाडौं र प्राइम कमर्सियल बैंकलाई ५० लाख रुपैयाँका दरले जरिबाना गरेको राष्ट्र बैंकले जनाएको छ।
केही बैंक भने कारबाहीमा दोहोरिएका छन्। केन्द्रीय बैंकले तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), माछापुच्छ्रे र सिभिल बैंकलाई ऋणीलाई दिएको कर्जामा नियम विपरीत पुनः प्रिमियम दर वृद्धि गरेको भन्दै सीईओलाई सचेत गराएको छ। यस्तै नबिल बैंकलाई ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नभएको भन्दै सचेत गराइएको छ।