शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बाहिरी जिल्लाका किसानले धानेका छन् चन्द्रागिरिको तरकारी खेती

बाहिरी जिल्लाका किसानले धानेका छन् चन्द्रागिरिको तरकारी खेती

खेतीका लागि उपयुक्त वातावरणका साथै यहाँबाट ढुवानी पनि सहज हुने भएपछि किसानहरुको खेतीप्रतिको आकर्षण बढेको हो।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- काठमाडौंको चन्द्रागिरि नगरपालिका कृषिका लागि उर्वर क्षेत्र मानिन्छ। अहिले पनि काठमाडौंको कलङ्की-नागढुङ्गा रुटमा सडक यात्रा गर्दा तरकारी खेतीका लागि तयार टनेल देख्न सकिन्छ। खेतीका लागि उपयुक्त वातावरणका साथै यहाँबाट ढुवानी पनि सहज हुने भएपछि किसानहरुको खेतीप्रतिको आकर्षण बढेको हो।

कृषिका लागि उर्वरभूमि चन्द्रागिरिमा पछिल्लो समयमा कङ्क्रिटका घरहरु बाक्लिँदै जाँदा खेतीयोग्य जमिन बिस्तारै घट्दै जाने चिन्ता पनि थपिएको छ। यस क्षेत्रमा बढ्दो जग्गा प्लटिङका कारण खेतीयोग्य जमिनमा मासिन थालेको छ।

यस क्षेत्रमा तरकारी खेती गर्ने अधिकांश किसान काठमाडौँभन्दा बाहिरी जिल्लाका छन्। उनीहरुले जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन्। चन्द्रागिरि नगरपालिकाको कृषि शाखाका अनुसार ८० देखि ९० प्रतिशत किसान बाहिरी जिल्लाबाट आएका छन्। उनीहरुले प्रतिरोपनी वार्षिक रू १० हजारदेखि २५ हजारसम्म भाडा बुझाउने गरेका छन्।

रोल्पाबाट आएका कर्णबहादुर घर्तीमगरले चन्द्रागिरि नगरपालिका–४ थानकोटमा ३५ रोपनी जग्गा भाडामा लएर तरकारी खेती गरिरहेका छन्। उनी अहिले गोलभेँडा स्याहार गरी फेरि गोलभेँडा रोप्ने तयारीमा छन्।

यस क्षेत्रका केही किसानले तरकारीखेतीबाट राम्रो आम्दानी गर्न सके पनि कतिपयले भने रोगका कारण अपेक्षा अनुसारको आम्दानी लिन नसकेको बताउँदै आएका छन्। रोल्पाका मगर पनि मल र बीउलगायत विभिन्न समस्या तथा सरकारी नीतिका कारण अपेक्षाअनुसारको आम्दानी नभएको बताउँछन्।

Metro Mart
worldlink

काभ्रेपलाञ्चोबाट यहाँ आइ खेती गरिरहेका किसान सुरेश लामाले पनि जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको लामो समय भइसकेको छ। राम्रोसँग समय दिएर तरकारी खेती गर्न सके राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ। उनले तरकारी खेतीसँगै गाईपालन पनि गरेका छन्।

चन्द्रागिरिमा अन्य खेतीको तुलनामा तरकारी खेती बढी हुने गरेको छ। तरकारीमा पनि गोलभेँडा अत्यधिक उत्पादन हुन्छ। यहाँ उत्पादन हुने गोलभेँडा रसिलो र मीठो हुने हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। काठमाडौँ कालीमाटी तरकारी बजारका व्यापारीले खेतमै आइ थोक मूल्यमा तरकारी लिएर जाने गरेका छन्।

चन्द्रागिरिमा तरकारी खेती गर्ने दुई सय ७३ कृषि फार्म तथा समूह सूचीकृत रहेको रहेको नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीको भनाइ छ। उनका अनुसार यहाँ ८६ हजार रोपनीमध्ये हाल झन्डै २६ हजार रोपनीमा खेती हुने गरेको छ। जसमध्ये १० प्रतिशत किसानले गाईवस्तु र कुखुरापालन समेत गरेको उनको भनाइ छ।

तरकारी खेतीमा लागेका कति किसान सूचीकृत नभएकाले अभिलेख नगरपालिकासँग छैन। गोलभेँडासँगै यहाँका किसान च्याउ खेतीमा पनि उत्तिकै सक्रिय छन्। विशेष गरी बलम्बुको च्याउको बजार राम्रो छ।

तर नगरपालिकासँग भने यहाँबाट वार्षिक कति तरकारी उत्पादन हुन्छ रु कारोबार कति हुन्छ ? भन्ने कुनै अभिलेख नभएको प्रवक्ता खड्गीको भनाइ छ। उनका अनुसार नगरपालिकाले तरकारी खेतीमा विभिन्न माध्यमबाट सहयोग गर्दै आएको र अहिले पनि च्याउ खेतीका लागि आवश्यक सहयोग गरिरहेको उहाँको भनाइ छ।

कृषिमा तीन करोड बजेट

चन्द्रागिरि नगरपालिकामा कृषि विकासका लागि चालु आर्थिक वर्षमा तीन करोडभन्दा बढी बजेट बिनियोजन गरेको छ। आन्तरिक बजेटसँगै केही रकम सङ्घीय सरकारबाट प्राप्त छ भने कुनै प्रदेश सरकारबाट पनि प्राप्त छ। साथै कृषि क्षेत्रका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत पनि बजेट बिनियोजन भएको नगरपालिकाको भनाइ छ।

नगरपालिकाले आन्तरिक रुपमा एक करोड ५० लाख बजेट विनियोजन गरेको कृषि शाखाका प्राविधिक सहायक सुवास भण्डारीले जानकारी दिए। उनका अनुसार टनेल घर, हाते ट्र्याक्टर, च्याउ खेतीका लागि आवश्यकयन्त्र उपकरणलगायतका लागि ७५ प्रतिशत अनुदान उपलब्ध गराइएको छ। जसका लागि झन्डै रू २२ लाख बजेट विनियोजन भएको छ।

हिउँदे र बर्खे तरकारी बीउका लागि मात्रै नगरपालिकाले १० लाख बजेट छुट्याइएको छ। उक्त रकम वडा कार्यालयमार्फत वितरण हुनेछ। प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत च्याउ र तरकारी पकेट क्षेत्रका लागि रू२४ लाख बजेट आएको छ। त्यसको निवेदन सङ्कलन कार्य जारी रहेको भण्डारीले बताए। निवेदनका आधारमा उपयुक्त पकेट क्षेत्र छुट्याइने उनको भनाइ छ।

प्रदेश सरकारअन्तर्गत च्याउ खेती प्रवर्द्धनका लागि ५० प्रतिशत अनुदानमा ३० लाख प्राप्त भएको छ।चन्द्रागिरि नगरपालिका–५ मा तरकारी खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा रू १५ लाख बजेट छुट्याइएको छ भने सङ्घीय सरकारबाट सहर केन्द्रित तरकारी खेती विकासका लागि रूएक करोड विनियोजन भएको नगरपालिकाले जनाएको छ।

यस्तै सहरी हाटबजार व्यवस्थापन गर्नरू ५० लाख छुट्याइएको छ। किसानहरु अझै पनि सरकारबाट भने प्रभावकारी सहयोग हुन नसकेको दुखेसो गर्छन्। उत्पादन गरेको बालीले पाउनुपर्ने मूल्य नपाएको उनीहरुको दुखेसो छ।

प्रकाशित: Feb 07, 2023| 20:30 मंगलबार, माघ २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्