शुक्रबार, वैशाख २६, २०८२

खुल्न छाडे नयाँ उद्योग, ६ महिनामा १४५ मात्रै दर्ता

चालू आवको पुस मसान्तसम्म ३९ ठूला, ४१ मझौला र ६५ साना उद्योग दर्ता भएका हुन्।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं– उद्योग विभागले चालू आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म १४५ उद्योग मात्रै दर्ता भएको निराशाजनक विवरण सार्वजनिक गरेको छ। विभागले सार्वजनिक गरेको अर्धवार्षिक अवधिको उद्योग दर्ता र विदेशी लगानी स्वीकृितको तुलनात्मक विश्लेषण तथ्यांकअनुसार चालू आवको पुस मसान्तसम्म ३९ ठूला, ४१ मझौला र ६५ साना उद्योग दर्ता भएका हुन्। 

यी उद्योगमा स्वदेशी र विदेशी दुवै खाले लगानी रहेको छ। गत आवको अर्धवार्षिक अवधिको तुलनामा यस वर्षको उद्योग दर्ताको संख्या कम हो। गत आवको पुस मसान्तसम्म ४६ ठूला, ५७ मझौता र ५२ साना गरी १५५ उद्योग दर्ता भएको विभागको तथ्यांकमा उल्लेख छ।

चालू आवको पुस मसान्तसम्म दर्ता भएका १४५ उद्योगमा १ खर्ब ३९ अर्ब बराबर लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। यस वर्षको अर्धवार्षिक अवधिमा आएको लगानी प्रतिबद्धता पनि गत वर्षभन्दा कम हो। गत आवको पुस मसान्तसम्म १ खर्ब ९० अर्ब बराबर लगानी प्रतिबद्धता आएको थियो।

विभागका अनुसार हालसम्म नेपालमा कुल २७ खर्ब ६६ अर्ब लगानी प्रतिबद्धतासहित ८ हजार ९०९ उद्योग दर्ता भएका छन्। यस्ता उद्योगमा ठूला उद्योग १ हजार ३४४, मझौता उद्योग २ हजार ५८ र साना उद्योग ५ हजार ५०७ रहेका छन्।

यसरी हालसम्म दर्ता भएका करिब ९ हजार उद्योगबाट प्रस्तावित रोजगारी ६ लाख ६७ हजार ३२३ जना रहेको विभागले जनाएको छ। गत पुस मसान्तसम्म दर्ता भएका कुल १४५ उद्योगमध्ये १३३ उद्योगमा १७ अर्ब ३० करोड बराबर विदेशी लगानी प्रतिबद्धता आएको छ। हालसम्म नेपालमा कुल ५ हजार ६६४ विदेशी लगानी स्वीकृति भएको पनि विभागले बताएको छ। 

Metro Mart
worldlink

यसरी विदेशी लगानी स्वीकृत भएका उद्योगमा ठूला उद्योग ३२४, मझौला उद्योग ६२२ र साना उद्योग ४ हजार ८१८ रहेका छन्। हालसम्म स्वीकृत कुल विदेशी लगानी प्रतिबद्धता ४ खर्ब ३६ अर्ब बराबर रहेको विभागको तथ्यांकमा उल्लेख छ। यसरी विदेशी लगानी स्वीकृत गर्दा प्रस्तावित रोजगारीको संख्या २ लाख ९९ हजार ९६१ जना छ।

नेपालमा हालसम्म साढे ५ हजार बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ। 

गत पुस मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको संख्या मात्रै आधाभन्दा बढी छ। चालू आवको ६ महिने अवधिमा एउटा प्याटेन्ट दर्ता, ८ वटा डिजाइन दर्ता र १ हजार ५५१ ट्रेडमार्क दर्ता भएको विभागले जनाएको छ। विभागमा हालसम्म भएको कुल पेटेन्ट दर्ताको संख्या ८१ छ। त्यस्तै, ३०० डिजाइन र ५७ हजार ५६६ ट्रेडमार्क दर्ता भइसकेको विभागले जनाएको छ।

प्रकाशित: Feb 04, 2023| 16:27 शनिबार, माघ २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्