काठमाडौं- आईएमएस ग्रुपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनअघि आईएमएस एयरपोर्ट सर्भिसेज प्रालिले व्यवस्थापन गरेको आगमन कक्षको ट्राभलेटरसँग सम्बन्धित गुनासोलाई सम्बोधन गर्ने जनाएको छ।
आईएमएस ग्रुपले विज्ञप्ति जारी गरेर सार्वजनिक भएको घटना, जनगुनासो तथा समस्याबारे व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यो समस्याको समाधान तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका यात्रु बाहिर निस्किने मार्ग, प्रतीक्षा कक्ष तथा पार्किङ क्षेत्रलाई सहज, सुरक्षित बनाउन आइएमएस एयरपोर्ट सर्भिसेज पूर्णरूपमा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
'हामी सम्पूर्ण यात्रुहरूको सहज र सुरक्षित यात्रालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ भन्ने सम्पूर्णलाई विश्वास दिलाउन चाहन्छौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आगमन कक्ष निर्माण गर्दा हाम्रो प्राथमिकता र ध्यान सम्पूर्ण नेपाली तथा विदेशी यात्रुहरुका लागि अन्तर्राष्ट्रियस्तरको सुविधा र पर्याप्त (स्पेसियस) पार्किङ गर्ने स्थानको व्यवस्थापन रहेको जानकारी गराउन चाहन्छौँ,' ग्रुपले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट यात्रुहरू बाहिर निस्किने मार्गमा एलिभेटरमा बढी भिडभाड हुन थालेपछि ट्राभलेटर दोस्रो चरणमा निर्माण गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्र कटेपछि यात्रुहरूका लागि सहज आगमन, पार्किङ समस्याको उचित व्यवस्थापनका लागि यात्रु मार्ग, यात्रु प्रतीक्षा कक्ष, पार्किङ क्षेत्रको निर्माण आयोजना नेपाल सरकारको टेन्डर आह्वानपछि निर्माण, व्यवस्थापन, सञ्चालन र हस्तान्तरण (बुट) मोडलअनुसार ३० वर्षे लिजसहित आईएमएस एयरपोर्ट सर्भिसेज प्रालिको पूर्ण लगानीमा नेपालकै सबैभन्दा ठूला निर्माण कम्पनीमध्येको एक रसुवा कन्स्ट्रक्सनसँगको साझेदारीमा निर्माण भएको हो।