काठमाडौं– वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको दाबी गरेको छ। वायुसेवा सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको हवाई सुरक्षासम्बन्धी अन्तक्र्रियामा नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको हो।
संघले हवाई दुर्घटना एउटा मात्रै कारण नभएर धेरै कारणले हुने दाबी गरेको छ। संघ अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको बताए। धेरै राम्रो हवाई सुरक्षा भएका देशमा पनि विभिन्न कारण हवाई दुर्घटना हुने गरेको र नेपालमा कहिलेकाहीं यस्ता घटना घट्ने उनको भनाइ छ।
हवाई दुर्घटनालाई सामान्य रुपमा नलिएर हवाई उडानलाई सुरक्षित बनाउन सरकारसँगै सरोकारवाला पक्षले अझ बढी ध्यान दिनुपर्ने आवश्यकता उनले औंल्याए।
हवाई दुर्घटना जहाज मेसिन, मौसम, प्राविधिक पक्ष, व्यवस्थापन, नियमन र मानवीय गल्तीलगायत कुनै पनि कारण हुन सक्ने कार्यक्रममा सहभागीले बताए। वायुसेवा कम्पनी नेपालका सबै क्षेत्रमा हवाई सेवाको पहुँच पु¥याउन तयार रहेकाले सरकारले सोहीअनुसार हवाई पूर्वाधार बनाउन आवश्यक रहेको अध्यक्ष थापाको भनाइ थियो।
कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका निर्देशक श्यामकिशोर साहले नेपालको हवाई उडान सुरक्षित बनाउन हवाई ट्राफिक कन्टोलरलाई थप तालिम आवश्यक रहेकामा जोड दिए। प्राधिकरणले ट्राफिक कन्ट्रोलरलाई दिने तालिम अपुग भएकाले यसलाई विस्तार गर्नुपर्ने उनको धारणा थियो।हवाई उडान सुरक्षित बनाउन नियमन, तालिम र प्रविधिलाई पनि सँगै अगाडि बढाउनुपर्ने अवस्था रहेको उनले सुझाए।
संघका महासचिव मनोज कार्कीले नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका लागि ल्याएको नयाँ प्रावधानसम्बन्धी व्यवस्थामा वायुसेवा सञ्चालकको सहकार्य र समर्थन रहेको जानकारी दिए। प्राधिकरणले ल्याएको नयाँ नियमले हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउन मद्दत पुग्ने उनले बताए।